संविधान समावेशी नभए विरोध हुन्छ : तामांग
संघीय समाजवादी पार्टी नेपालको अष्ट्रेलिया शाखाका अध्यक्ष गणेश तामांगले नेपालमा संविधानको मस्यौदामा आएका कुराहरुलाई गम्भीरतापूर्वक हेरिरहेको बताउनुभएको छ । उक्त पार्टीको वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । जनतालाई अधिकार दिने कुरामा कञ्जुस्याई गरिएको भन्दै तामांगले अधिकार कटौती भए त्यसको विरोध गर्ने बताउनुभयो । सिड्नीको क्यान्टोरबरीस्थित सिनियर सिटिजन हलमा आयोजना गरिएको वार्षिकोत्सव अन्तर्गत नेपालका भूकम्प पीडितका लागि च्यारिटी डिनरको समेत आयोजना गरिएको थियो । उक्त डिनरमा नेपाली समूदायका साथै सिड्नीस्थित विभिन्न सिटी काउन्सिलका काउन्सिलरहरुको समेत सहभागिता थियो । नेपालमा भूकम्प पीडितको निम्ति सहयोग गरिरहेको र वार्षिकोत्सवका अवसरमा समेत च्यारिटी डिनर आयोजना गरी सहयोग अघि बढाउने प्रयास गरिएको उहाँले जानकारी दिनुभयो । च्यारिटी डिनरअघि आयोजना गरिएको औपचारिक कार्यक्रममा विभिन्न व्यक्तित्वहरुले संघीय समाजवादी पार्टी नेपाल अष्ट्रेलिया शाखालाई शुभकामना दिएका थिए ।