गुणस्तरीय शिक्षामा प्रतिबद्ध सिड्नी मेट्रो कलेज
अष्ट्रेलियामा रहेका नेपालीको मात्र लगानीमा अर्को कलेज सिड्नीमा खुलेको छ । सिड्नी मेट्रो कलेजले आगामी अगष्ट १० तारिखबाट विधिवत पढाई सञ्चालन गर्ने भएको हो । सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी शुभारम्भ गरिएको कलेजका विषयमा जानकारी दिने उद्देश्यले हालै सञ्चारकर्मीहरुका निम्ति आयोजना गरिएको भेटघाट कार्यक्रममा कलेजका सञ्चालकहरुले कलेज नाफा कमाउने उद्देश्यले नभई अष्ट्रेलियाको शिक्षा क्षेत्रमा विशिष्ठ योगदान दिनका लागि खोलिएको जानकारी दिएका छन् । नेपाली प्राध्यापक, व्यवसायीहरुको संयुक्त लगानीमा खोलिएको कलेजले ३ सय ३० जना विद्यार्थी पढाउने अनुमति पाएको छ । अष्ट्रेलियाका विभिन्न शहरमा समेत आफ्नो कक्षा विस्तार गर्नसक्ने कलेजमा पहिलो सेसनमा १ सय ६४ विद्यार्थी पढाउने स्वीकृति प्राप्त भएको जानकारी कलेजका प्रिन्सिपल राम श्रेष्ठले दिनुभयो । कार्यक्रममा कलेजका विषयमा जानकारी दिँदै अर्का सञ्चालक एवं प्राध्यापक डा. कृष्णकुमार श्रेष्ठले जानकारी दिनुभयो । “करिब दुई वर्षको गृहकार्यपछि हामीले कलेज स्थापना गरेका छौं, नाफा कमाउनेभन्दा पनि हामीले पनि अष्ट्रेलियाको शिक्षा क्षेत्रमा गुणस्तरीय शिक्षा दिएर नयाँ उदाहरण प्रस्तुत गर्न सक्छौं भन्ने उद्देश्यका साथ हामी आएका छौं,” सञ्चालकमध्येका एक डा. हेमन्त ओझाले भन्नुभयो । अनुसन्धानका क्षेत्रमा समेत कलेजले योगदान दिनेछ । विद्यार्थीका लागि भिसा र पीआर पाउने माध्यम होइन शिक्षाको उत्तम गन्तव्य बनाउने योजना रहेको सञ्चालकहरुको दाबी थियो । कलेजका लगानीकर्ता एवं सञ्चालकहरुमा डा. कृष्णकुमार श्रेष्ठ, राम श्रेष्ठ, शिव श्रेष्ठ, शान्तकुमार श्रेष्ठ र डा. हेमन्त ओझा रहनुभएको छ । कलेजले व्यवहारिक ज्ञानका साथै विद्यार्थीहरुलाई अहिलेको समयानुकूल लक्ष्य प्राप्तिका लागि नियमित परामर्शका साथै अन्य विविध विधामा समेत सघाउनेछ । सञ्चालकहरुमध्ये ओझा बाहेक अन्य लामो समयदेखि सिड्नीमा रही प्राध्यापन, शैक्षिक परामर्श, ट्राभल एजेन्सी चलाएर बस्नेहरु छन् । ओझा भने केही समय अघि लन्डनबाट अष्ट्रेलिया आउनुभएको हो । सुरुवातमा सर्टिफिकेट फोर ईन विजनेस, डिप्लोमा अफ विजनेस र एडभान्स डिप्लोमा अफ विजनेस विषयको पढाईबाट आफ्नो यात्रा सुरु गरेको कलेजले छिट्टै अन्य विषयहरु थप्दै जाने लक्ष्य राखेको छ । “गुणस्तरीय शिक्षा दिने कलेज हुँदै विश्वविद्यालय बनाउने हाम्रो लक्ष्य छ ।” सबै सञ्चालकहरुले सामूहिक रुपमा सञ्चालकहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।