संविधानको मस्यौदाले नयाँ द्वन्द्व जन्माएको अध्यक्ष यादवको ठहर
सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रको मूल्य मान्यताविपरीत ल्याएको मस्यौदाबाट निर्माण भएको संविधानले मुलुकमा नयाँ किसिमको द्वन्द्व जन्माउने धारणा राख्नु भएको छ । मधेसी पत्रकार सङ्घ पर्साले वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले चार दलको १६ बुँदे सहमतिको आधारमा सङ्घीयता, समावेशिता र समानुपातिक निर्वाचन प्रणालिको सिद्धान्तविपरीत ल्याइएको संविधानले मुलुक कुशासन, भ्रस्टाचार र द्वन्द्वको भूमरिमा फस्ने दाबी गर्नुभयो । सम्पूर्ण आन्दोलनको उपलब्धिलाई समाप्त पार्दै चार दलको सिन्डीकेटले ल्याउन चाहेकोे संविधानले मुलुकलाई द्वन्द्वको नयाँ चरणमा प्रवेश गराउने चेतावनी दिँदै उहाँले अन्तरिम संविधानको भावना र मधेसी, जनजाति, आदिवासी, दलित, पिछडिएकाको भावनालाई समेट्ने गरी सङ्घीय लोकतान्त्रिक समावेशी, समानुपातिक गणतन्त्रात्मक संविधान आए मात्र सङ्क्रमणकालको अन्त्य गर्दै मुलुकमा शान्ति स्थिरता समृद्धि आउने बताउनुभयो ।