नयाँ संविधानको मस्यौदामा भएको धार्मिक प्रावधानको विरोध
नयाँ संविधानको मस्यौदामा धर्मनिरपेक्षता राखिएकामा आपत्ति जनाउँदै नेपाली काँग्रेसका नेता खुमबहादुर खड्का नेतृत्वको टोलीले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङसमक्ष विरोधपत्र बुझाएको छ । दर्कीरहेको असारे झरीमा पैदल नै हिँडेर रुझ्दै संविधानसभा भवन नयाँ बानेश्वरमा पुगेर मुलुकलाई धर्मसापेक्ष बनाउन खड्का नेतृत्वको टोलीले आग्रह गरेको छ । जनआन्दोलनको समयमा उठ्दै नउठेको विषय अन्तरिम संविधानमा राखिएको र पछिल्लो पटक संविधान मस्यौदा समितिले तयार पारेको प्रस्तावमा समेत धर्मनिरपेक्षता नै राखिएकामा आपत्तिसमेत प्रकट गरिएको थियो । नेपाली काँग्रेसभित्र सनातन हिन्दू राष्ट्र महाअभियान चलाउँदै आएका खड्काको साथमा विरोधपत्र बुझाउन पूर्व सभामुख तारानाथ रानाभाट, लक्ष्मण घिमिरेलगायतले मुलुकलाई सनातन हिन्दू राष्ट्र बनाउनुपर्ने माग गर्नुभएको थियो । विरोधपत्र बुझेपछि सभाध्यक्ष नेम्वाङले भन्नुभयो, “झरी रुझ्दै आएर विरोध पत्र बुझाउनुभयो, बहसमा भाग लिनुभयो, त्यसका लागि तपाईंलाई धन्यवाद छ ।”