विश्वका जेठा व्यक्तिको ११२ वर्षको उमेरमा निधन


dieविश्वका सबैभन्दा जेठा व्यक्तिको निधन भएको छ । जापानी नागरिक साकारी मोमोयीको ११२ वर्षको उमेरमा निधन भएको जापानी अधिकारीहरूले जनाएका छन् । जापानी अधिकारीहरूले यही आइतबार उहाँको निधन भएको बताएका छन् । जापानको साइतामा नगरका अधिकारीहरूले उहाँको निधन भएको औपचारिक जानकारी मङ्गलबार दिएका हुन् । उनीहरूका अनुसार साकारी गएका कैयौँ वर्षदेखि साइतामामा नै बस्दै आउनुभएको थियो । तर उहाँको निधन भने टोकियोको एक नर्सिङ होममा भएको थियो । सञ्चारमाध्यमहरूले उहाँको जन्म राइट दाजुभाइले हवाईजहाजको आविश्कार गरेर सफलताका साथ उडाएको अर्काे महिना भएको भनी समाचार प्रकाशन एवम् प्रसारण गरेका राजधानी टोकियोबाट प्राप्त समाचारमा जनाइएको छ । साइतामाका एकजना अधिकारीले भने– हामीले उहाँको पारिवारिक स्रोतबाट थाहा पायौँ कि उहाँको निधन गत आइतबार भएको छ । स्वास्थ्य अधिकारीहरूले गएको कम्तीमा पनि दुई हप्ताअघिदेखि उहाँ बिरामी पर्नुभएको थियो र पछिल्लो हप्ता उहाँको स्वास्थ्यमा ह्रास आएको बताएका छन् । उहाँका दुवै मिर्गाैलाले काम गर्न छोडेपछि गत आइतबार निधन भएको अधिकारीहरूले जनाएका छन् । उहाँले गतवर्ष मात्र अथवा उहाँ आफू १११ वर्षको भएपछि विश्वको सबैभन्दा जेठो व्यक्तिका रूपमा मान्यता पाउनुभएको थियो । सन् १९०३ को फेब्रुअरी ५ मा जन्मिनुभएका उहाँलाई गिनिज वल्र्ड रेकर्डले गतवर्ष विश्वको सबैभन्दा पाको व्यक्तिको मान्यता दिएको हो । उहाँ एक विद्यालयका पूर्व प्रधानाध्यापक हुनुहुन्थ्यो । उहाँलाई गिनिज बुक्सले सो मान्यता दिनका लागि आयोजना गरेको उक्त समारोहमा बोल्दै उहाँले गतवर्ष आफू थप दुई वर्ष बाँच्ने बताउनुभएको थियो । सेतो कमिज, कालो कोट र पाइन्ट अनि चाँदी रङ्गको टाइमा सजिनुभएका उहाँले भन्नुभएको थियो– म अहिले नै माथि जाने सोचमा छैन र मलाई लाग्छ म अरू दुई वर्ष त बाँच्ने नै छु । जापान विश्वमा लगभग लामो उमेर नागरिक बाँच्ने देशमा पर्दछ । जापानको पूरा जनसङ्ख्याको करिब एक चौथाइ जनसङ्ख्या ६५ वर्षभन्दा माथिका रहेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?