मस्यौदा अन्तरिम संविधानभन्दा पनि पछि हटेको वैद्य निष्कर्श


Baidya at Press Meet

Baidya at Press Meet
Baidya at Press Meet

नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले नयाँ संविधानको प्रस्तावित मस्यौदा अन्तरिम संविधानभन्दा पनि पछि हटेर आएको बताउनुभएको छ । माओवादी उपत्यका ब्युरोले आयोजना गरेको ‘संविधानको मस्यौदा र जनताको जनादेश’ विषयको अन्तक्र्रियात्मक गोष्ठीमा अध्यक्ष वैद्यले समावेशी, समानुपातिकलगायत विषयमा अन्तरिम संविधानले दिएको अधिकार पनि खोस्ने गरी मस्यौदा आएको विचार व्यक्त गर्दैै भन्नुभयो, “संविधानको मस्यौदा हेर्दा यथास्थितिवादी संविधान आउने निश्चित देखिएको छ ।” उहाँले यथास्थितिवादी संविधान आउनबाट रोक्न देशभक्त र प्रगतिशील शक्तिको संयुक्त मोर्चा आवश्यक रहेकामा जोड दिनुभयो । अर्को प्रसङ्गमा अध्यक्ष वैद्यले भारत र चीनबीच लिपुलेकका विषयमा भएको सम्झौताले नेपालको स्वाधीनतामाथि हस्तक्षेपको अवस्था आएको बताउँदै त्यसलाई सच्याउन जनस्तरबाट दबाब दिन आवश्यक रहेको धारणा राख्नुभयो । सङ्घीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता अशोककुमार राईले परिवर्तनका विषयलाई रोक्ने गरी संविधानको मस्यौदा आएको बताउनुभयो । कार्यक्रममा नेकपा(एकीकृत)का महासचिव परी थापा, नेकपा(माओवादी)का संयोजक मातृका यादव, क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापालगायतले जनमुखी संविधान ल्याउन दबाब दिनका लागि एकीकृत नीति र कार्यक्रम ल्याएर बृहत्तर संयुक्त मोर्चा बनाउनुपर्ने धारणा राख्नुभएको थियो ।
मस्यौदा सच्याउन माग
नेकपा–माओवादीका सचिव देव गुरुङले प्रस्तावित संविधानको मस्यौदामा आफ्नो पार्टीको असहमति रहेको बुँदा समेटेर कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । माओवादीले एक सदनात्मक संसद् हुनुपर्ने, १८ वर्ष उमेर पुगेकालाई अनिवार्य सैनिक तालिमको प्रावधान राखिनुपर्ने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली कायम हुनुपर्ने र निजी क्षेत्रभन्दा सार्वजनिक र सहकारीलाई प्राथमिकता दिनुपर्ने माग गरेको छ । शिक्षा र स्वास्थ्य सरकारको दायित्वभित्र राख्नुपर्ने र ती क्षेत्रमा निजी क्षेत्रलाई प्रवेश दिन नहुने, राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक जना महिलाका साथै दुई भिन्न जाति समुदायको हुनुपर्ने, संसदीय प्रणाली हटाउनुपर्ने, राष्ट्रपतिको शपथ प्रधानन्यायाधीशबाट नभई व्यवस्थापिकामा हुनुपर्ने, न्यायालयको पुनःसंरचना हुनुपर्नेलगायत बुँदा सो कार्यपत्रमा उल्लेख छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?