नेकपा (एमाले) ले महाभूकम्पको वृत्तचित्र र प्रतिवेदन तयार गर्ने


UMLनेकपा (एमाले) ले भूकम्पको दस्तावेज तयार गर्ने उद्देश्यले ‘महाभूकम्प २०७२’ नामक वृत्तचित्र निर्माण गर्ने भएको छ । राष्ट्रिय स्वयम्सेवक परिचालन कमिटिको बैठकले समीक्षा प्रतिवेदनसमेत तयार गर्ने निर्णय गरेको छ । गत वैशाख १२ गते आएको भूकम्पले विभिन्न स्थानका ऐतिहासिक स्थल तथा पुरातात्विक महत्वका विषय वस्तुलगायतमा पु¥याएको क्षति वृत्तचित्रमा संलग्न गरिनेछ । त्यस्तै, पार्टीले गत जेठ १० देखि असार १० गतेसम्म विभिन्न २७ जिल्लाका ७६ निर्वाचन क्षेत्रमा परिचालन गरेका स्वयम्सेवकले विभिन्न स्थानमा गरेका काम, श्रमदानलगायतको अभिलेख तथा महत्वपूर्ण तस्बिर समीक्षा प्रतिवेदनमा संलग्न गरिनेछ । सो कमिटीका संयोजक गोकर्ण विष्टको अध्यक्षतामा आज बसेको बैठकले पार्टीका नेता विनोद श्रेष्ठ र विजय गुरुङलाई वृत्तचित्र निर्माणका लागि आवश्यक संयोजन गर्न जिम्मेवारी तोकेको छ । पार्टीका सचिव योगेश भट्टराई तथा नेताहरू शङ्कर पोखरेल, कृष्णगोपाल श्रेष्ठ, सूर्य थापा र निरज आचार्यलाई समीक्षा प्रतिवेदन तयार गर्ने जिम्मेवारी बैठकले प्रदान गरेको छ । एक महिनामा वृत्तचित्र तथा साउनको पहिलो सातामा समीक्षा प्रतिवेदन निर्माण गरी केन्द्रलाई बुझाइनेछ । बैठकमा महासचिव ईश्वर पोखरेलले भूकम्पले निम्त्याएको विपत्मा प्रभावित क्षेत्रका विद्यालय, सामाजिक भवन तथा जनताका घरटहरा निर्माणका लागि पार्टीले उचित समयमा स्वयम्सेवक परिचालन गरी जनताको सेवा र सहयोग गरेको विचार व्यक्त गर्नुभयो । कमिटीका संयोजक विष्टले आगामी दिनमा निर्माण गर्न लागिएको वृत्तचित्र तथा समीक्षा प्रतिवेदन नयाँ पुस्तालाई अहिले गएको भूकम्पकाबारेमा थप अध्ययन तथा अनुसन्धान गर्न महत्वपूर्ण अभिलेखकारूपमा उपयोगी हुने बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?