आफ्नै कार्यकर्ताले कालोमोसो दलेका कर्णको पक्षमा नेविसङ्घको जुलुस, मोसो दल्ने केही पक्राउ
नेपाल विद्यार्थी सङ्घका अध्यक्ष तथा सभासद् रञ्जित कर्णलाई विहानै निवासमा पुगेर जुत्ताको माला लगाउने र कालो मोसो दल्ने कार्यको विरोधमा नेविसङ्घले अपरान्ह काठमाडौंमा ¥याली निकालेको छ । बिहान ७ बजे आफ्नै निवास हाँडीगाउँमा दश बाह्र जनाले सभासद् कर्णमाथि कुटपिट गर्दै मुखमा कालोमोसो दल्ने र जुत्ताको माला लगाउने कार्य गरेको थियो । कालोमोसो दलेर उनलाई सडकमा ल्याइएको थियो । नेविसङ्घले यस घटनामा संलग्न भएको भन्दै नेविसङ्घका नेता कुन्दनराज काफ्ले, भूपेन्द्र श्रेष्ठ, आशेष श्रेष्ठ, आनन्दश्री न्यौपाने, नवराज त्रिपाठी, शशाङ्कश्री न्यौपाने, विमल पराजुली, निकेश खड्का, समधुर बराल, रुपेश सुवेदी र जीवन खत्रीविरुद्ध रिट दायर गरेको छ । नेविसङ्घका नेता दीपक भट्टराईले लोकतन्त्रमा चित्त नबुझेका कुरा असहमति राख्न सकिने भन्दै अध्यक्ष कर्णलाई आफ्नै निवासमा गएर आक्रमण गर्नु निन्दनीय घटना भएको बताउनुभयो । कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय सदस्य लक्ष्मी खतिवडा, नेविसङ्घ काठमाडौँका अध्यक्ष मनोज वैद्य, त्रिचन्द्र क्याम्पसका अध्यक्ष विष्णु पौडेल, नेविसङ्घका नेता लीलाबल्लभ दाहाललगायतले कर्णको आक्रमणमा संलग्न रहेकालाई पार्टीबाटै निष्काशन गर्नुपर्ने बताउनुभयो । अध्यक्ष कर्णले पत्रकार सम्मेलन गरी आफ्नै सङ्गठनका केही व्यक्तिले सङ्गठनको बद्नाम गराउन यस्तो घटना गराएको आशङ्का गर्दै दोषीलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गर्नुभएको थियो । घटनाको विरोधमा काठमाडौँ उपत्यकाका ३२ क्याम्पसका अध्यक्षले ऐक्यबद्धता जनाएका छन् । नेविसङ्घका नेता काफ्लेले भने घटनामा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गर्नुभयो । यसैबीच प्रहरीले घटनामा संलग्न रहेको आशंकामा केही व्यक्रिलाई सोधपुछका लागि पक्राउ गरेको छ ।