बजेटबाट सत्ता साझेदार एमाले असन्तुष्ट, आज संसदीय दलको बैठक


agni kharelव्यवस्थापिका–संसद्मा अर्थमन्त्री डा रामशरण महतले प्रस्तुत गर्नुभएको बजेटप्रति विभिन्न पार्टीका नेता, पूर्वअर्थमन्त्री एवम् निजी क्षेत्रका उद्योगी÷व्यवसायीले मिश्रित प्रतिक्रिया दिनुभएको छ । अर्थमन्त्री डा महतले संसद्मा बजेट प्रस्तुत गरेपछि संविधानसभा भवन परिसर नयाँबानेश्वरमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँहरूले बजेट समग्रमा सकारात्मक भएपनि अर्थतन्त्रमा नयाँ आशा सिर्जना गर्न नसकेको बताउनुभयो ।
खुद्रा कुरा आयो ःडा भट्टराई
एमाओवादीका नेता तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले मुलुक नयाँ परिस्थितिमा गएको अवस्थामा गुणत्मकरुपमा आशा जगाउने बजेट आउने अपेक्षा गरिएकामा अधिकांश कुरा पुरानै विषय भएको बताउनुभयो । उहाँले आर्थिक वृद्धिदर तीन प्रतिशतमा झरेकाले यसलाई चिर्न विशिष्ट प्रकारको राजस्व परिचालन, दिशाबोध र संरचनात्मक परिवर्तनको सोच आउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “केही झिनामसिना र खुद्रा सुधारका कुरा गरिएको छ, त्यो पर्याप्त छैन ।” सोही पार्टीका महासचिव कृष्णबहादुर महराले बजेट परम्पराको क्रमभङ्गता गर्ने क्रममा आउनुपर्नेमा सो हुन नसकेको बताउँदै भूकम्पपीडित जनतालाई राहत दिन र पुनःनिर्माण तथा पुनःस्थापनाका लागि ठोस योजना आउन नसकेको जनाउनुभयो ।
एमालेको आपत्ति
सत्ता साझेदार नेकपा (एमाले) का प्रमुख सचेतक अग्नि खरेलले बजेटका केही विषयमा आफ्नो पार्टीको गम्भीर आपत्ति जनाउँदै संयुक्त सरकारको मान्यताविपरीत बजेट आएको र काँग्रेसको एकलौटीजस्तो भएको टिप्पणी गर्नुभयो । उहाँले संयुक्त सरकारको अभाष नहुने गरी बजेट आएकाले यसबारे निर्णय गर्न बुधबार पार्टीको संसदीय दलको बैठक डाकिएको जनाउनुभयो । नेकपा (एमाले) का नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भूकम्पपछिको नयाँ परिस्थितिमा केही नयाँ कार्यक्रम आएपनि संविधान निर्माण हुने स्थितिमा समग्र अर्थतन्त्रको बाटो कोर्ने प्रयास नगरिएको बताउनुभयो । सोही पार्टीका नेता तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले भूकम्पपछिको पुनःनिर्माणलाई जोड दिएको बाहेक मौलिक कुरा नभएको बताउँदै कृषिलाई प्राथमिकता दिई देश विदेश र साना लगानीलाई बढावा दिँदै सुस्ताएको अर्थतन्त्रलाई माथि उठाउने खालको नभएको बताउनुभयो ।
हुलाकी राजमार्ग सकारात्मक
मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का महासचिव जीतेन्द्र देवले बजेट सन्तुलित विकासमुखी नभएको र यसले वर्गीय खाडललाई कायमै राखेको बताउनुभयो । उहाँले सरकारकै नीति तथा कार्यक्रममा भएका कुरालाई समेत नसमेटे पनि हुलाकी राजमार्गलाई बजेट बढाउनु सकारात्मक छ भन्नुभयो ।
युगान्तकारी भएन ः थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले भौतिक संरचना र पूर्वाधार विकासमा उच्च प्राथमिकता दिएको बताउँदै मुलुकका उत्पन्न आर्थिक र राजनीतिक सङ्कटलाई सम्बोधन गर्ने दृष्टिमा बजेट युगान्तकारी र साहसिक हुन नसकेको बताउनुभयो । उहाँले अर्थमन्त्रीले चुनौतीका रुपमा लिएका विषय गरिबी निवारण र बेरोजगारी समस्यालाई सम्बोधन नगरेको बताउनुभयो ।
निजी क्षेत्र उत्साहित
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले बजेटमा उल्लेखित विषय कार्यान्वयनका क्रममा निजी क्षेत्रको सहकार्यमा जान सकिए सकारात्मक हुने बताउँदै विभिन्न क्षेत्रमा कर नलगाउने आफ्ना माग सुनुवाइ भएको बताउनुभयो । महासङ्घकै बरिष्ठ उपाध्यक्ष भवानी राणाले बजेटको कार्यान्वयनलाई प्रतिक्षा गरिने र त्यसमा निजी क्षेत्रको भूमिका खोजिुपर्ने बताउनुभयो । घरेलु तथा साना उद्योग महासङ्घका बरिष्ठ उपाध्यक्ष श्यामप्रसाद गिरीले लघु उद्यमको विकासका लागि केही बुँदा भएपनि समग्र सम्बोधन भएको बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?