युवा सङ्घका असन्तुष्टद्वारा आफूलाई निलम्बन गरिएकामा विरोध
युवा सङ्घ नेपालका असन्तुष्ट पक्षले समानान्तर गतिविधि गरेको आरोपमा आफूहरूलाई निलम्बन गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । युवा सङ्घको मङ्गलबार बसेकोे स्थायी कमिटीको बैठकका निर्णय विज्ञप्तिमार्फत सार्वजनिक गरी उपाध्यक्ष दीलकुमारी पन्त र सचिव नरेश शाहीलाई निलम्बन गरेको सार्वजनिक गरिएको थियो । असन्तुष्ट पक्ष तथा उपाध्यक्ष पन्तको अध्यक्षतामा आज बिहान बसेको बैठकका निर्णय आज यहाँ पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै भूकम्पपीडितका नाममा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्गठन र व्यक्तिबाट आर्थिक सहयोग उठाएको र त्यसको दुरुपयोग भएको, पारदर्शी रुपमा परिचालन नगरेको, आफ्नो निजीस्वार्थ र पारिवारिक खर्चमा प्रयोग गरेको आरोप लगाउँदै अध्यक्ष निरु पाल र महासचिव राजिव पहारीलाई पदबाट निलम्बन गरेकोसमेत जानकारी दिइयो । पदीय जिम्मेवारी र गरिमालाई कायम राख्न नसकेको भन्दै अध्यक्ष पाल र महासचिव पहारीलाई पदबाट निलम्बन गरिएको असन्तुष्ट पक्षको भनाइ छ । पन्तको संयोजनमा सोमबारमात्र नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालको प्रमुख आतिथ्यमा एक छलफल कार्यक्रम गरिएपछि दुई पक्षबीच एकले अर्कालाई निलम्बन गरेको दाबी गर्दै आएका छन् । असन्तुष्ट पक्ष पन्तसहितका नेताले सङ्घको अध्यक्षमा निरु पाललाई चयन गर्दा विधान विपरीत भएको भनी असन्तुष्टि जनाउँदै आउनुभएको छ । तत्कालीन अध्यक्ष महेश बस्नेत उद्योगमन्त्री भएपछि पाललाई विस्तारित बैठकले अध्यक्ष बनाएको थियो । सङ्घको केन्द्रीय कमिटीको बैठक आगामी साउन २२ र २३ गते काठमाडौँमा बस्ने कार्यक्रम रहेको जनाइएको छ ।