मस्यौदाले जनताको भावनाको प्रतिनिधित्व हुन नसकेको प्रदिप गिरीको भनाई
नेपाली काँग्रेसका नेता प्रदीप गिरीले अहिले सुझाव सङ्कलनका लागि पठाइएको संविधानको पहिलो मस्यौदाले बहुसङ्ख्यक जनताको भावनाको प्रतिनिधित्व गर्न नसकेको भन्दै सच्याउनुपर्नेमा जोड दिनुभएको छ । चितवनमा प्रयास नेपालको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा उहाँले मधेसी, दलित, महिला तथा पिछडिएका वर्ग मात्रै होइन संविधान बनाउन क्रियाशील राजनीतिक दलका नेतालेनै मस्यौदामा चित्त बुझाउन नसकेको उहाँले दाबी गर्नुभयो । नेता गिरीले संविधान निर्माण प्रक्रियामा दल नभई दलका नेताविशेष हावी रहेको आरोपसमेत लगाउनुभयो । नागरिकताको सम्बन्धमा आमा र बाबु उल्लेख गरिनु र नेपाली मूलको भनेर उल्लेख गर्नुले जटिलता आउने भन्दै यस्ता कमी कमजोरीलाई यो बीचको अवधिमा सच्याएर लैजानुपर्ने कार्यक्रममा नेता गिरीले सुझाव समेत दिनुभयो । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले साउन मसान्तभित्र संविधान जारी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अब आउने संविधान दलहरूको सहमतिको दस्तावेज हुने भएकाले सबैको भावनाको कदर गर्न खोज्दा केही कमी कमजोरी हुनसक्ने बताउनुभयो । “यो संयुक्त क्रान्तिको उपलब्धि हो,” सचिव भट्टराईले भन्नुभयो, “कुनै पार्टीको घोषणापत्र होइन ।” एकीकृत नेकपा (माओवादी)का स्थायी समिति सदस्य लिलामणि पोखरेलले जस्तो भएपनि संविधान ल्याउने भन्ने माहोलको विकास भएको उल्लेख गर्दै राष्ट्रिय एकता, सार्वभौमसत्ता र लोकतान्त्रिक संविधान कसरी जनमुखी बनाउने भन्नेमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कसैले पनि चाहेको जस्तो संविधान नआउने प्रष्ट्याउनुभयो । विगतमा आफ्नै पार्टीको कमजोरी र विपक्षी पार्टीको हौवाका कारण संविधान बन्न नसकेको बताउँदै उहाँले अहिले संविधान जारी नगर्दा झन् खतरा पैदा हुने आशंका गर्नुभयो । कार्यक्रममा तीन नेताहरूले बोलेका कुरामा स्तम्भकार खगेन्द्र सङ्ग्रौला र राजेन्द्र महर्जनले टिप्पणी गर्नुभएको थियो ।