राष्ट्रिय टेबलटेनिस प्रतियोगिता सुरु
राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता राजधानीमा सञ्चालन भएको छ । अखिल नेपाल टेबलटेनिस सङ्घ तथा काठमाडौँ जिल्ला टेबलटेनिस सङ्घको संयुक्त आयोजनामा सञ्चालन भएको उक्त प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष लामाटेन्डी शेर्पाले एक कार्यक्रमबीच गर्नुभयो । प्रतियोगितामा एघार स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संस्था अनेटेसंका अध्यक्ष धर्ममान बज्राचार्यले जानकारी दिनुभयो । उहाँले भूकम्पपीडित राष्ट्रिय टेबलटेनिस खेलाडीको आर्थिक सहयोगका लागि उक्त प्रतियोगिताको आयोजना गर्न लागेको बताउनुभयो । प्रतियोगितामा पुरुष÷महिला एकल र टिम तथा छात्रछात्रा एकल र टिममा प्रतिस्पर्धा हुनेछ । भेट्रानतर्फ तीन स्पर्धा समावेश गरिएको छ । पाँच दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको छ ।