ब्यस्त बजारमा बम आक्रमण गरी पन्ध्रको हत्या
उत्तरी अफगानिस्तानमा अवस्थित एक ब्यस्त बजारमा बम विस्फोट गराई कम्तीमा पनि १५ जनाको हत्या गरिएको समाचार छ । अफगानिस्तानमा पछिल्लो समयमा यसरी आत्मघाती बम आक्रमणका घटनामा वृद्धि भइरहेको छ । बुधबार पनि यस्तै अर्काे एक हमलामा परी १५ जनाको मृत्यु भएको यहाँका अधिकारीहरूले जनाएका छन् । एकजना आत्मघातीले आफैमाथि बम विस्फोट गराई ती सर्वसाधारणको हत्या गरेको बताइएको छ । मारिनेमा महिला र बालबालिका पनि परेका सो समाचारमा जनाइएको छ । उनीहरूले मृतकको सङ्ख्या योभन्दा बढ्नसक्ने पनि बताएका छन् । यस आक्रमणमा परी अरु पनि कयौँ नागरिक घाइते भएका सो समाचारमा उल्लेख गरिएको छ । तुर्कमेनिस्तानको सीमा क्षत्रेमा पर्ने अल्मार जिल्लामा सो हमला भएको हो । उक्त जिल्ला अफगानिस्तानको फर्याब प्रान्तमा पर्दछ । यस आत्मघाती आक्रमणको अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता सेदिक सिद्धिकीले पुष्टि गर्नुभएको छ । उहाँले दिनुभएको सूचनाअनुसार बुधबार दिउँसो भएको विस्फोटमा परी मारिनेको सङ्ख्या १५ पुगेको छ । हाल अफगानिस्तानमा यहाँका तालिवान र अफगान सरकारबीच शान्तिवार्ताको सुरुवात भएको छ । तर बम विस्फोट र हिंसा भने रोकिएको छैन । बुधबार दिउँसो भएको यस हमलाको जिम्मेवारी भने कसैले पनि लिएको छैन । तर प्रहरीले भने यसमा तालिवानको हात रहेको बताएको छ ।