राष्ट्रिय टेबलटेनिसमा आर्मीलार्ई स्वर्णपदक जित्यो
राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगितामा त्रिभूवन आर्मी क्लबले पुरुष टिम इभेन्टमा स्वर्णपदक हात पारेको छ । लैनचौचरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आज भएको फाइनल खेलमा आर्मीले नेपाल प्रहरी क्लबलाई ३–२ ले पराजित गर्दै स्वर्णपदक हात पारेको हो । त्यस्तै प्रतियोगितामा ललितपुर र शसस्त्र प्रहरी बल(एपीएफ) क्लब तेस्रो भए । पुरुषमा दोस्रो भएको प्रहरी हिजो भएको महिला टिम इभेन्टमा भने पहिलो भएको थियो ।यसैगरी छात्र टिम इभेन्टमा आदर्श विद्या मन्दिर(एभिएम) पहिलो, प्रोक्सिमा दोस्रो तथा स्वर्णिम र ग्यालेक्सी पब्लिक स्कुल तेस्रो भए । सोही स्पर्धाको छात्रामा पनि एभिएम पहिलो भयो । कान्तिपुर इङलिस एकेडेमी दोस्रो तथा ह्वाइटफिल्ड उच्च माध्यमिक विद्यालय र ग्यालेक्सी संयुक्तरुपमा तेस्रो भए । छात्रा एकलमा एभिएमकी दीक्षा तामाङ र लश्था महर्जन फाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनल खेलमा तामाङले रुपन्देहीकी सुकृति श्रेष्ठलाई ९–११, ११–९, ११–५ र ११–५ मा पराजित गर्दै फाइलनमा प्रवेश गरिन भने महर्जनले एभिएमकै सिक्का सुवाललाई ११–७, ११–९, ८–११ र ११–५को सेटमा पाखा लगाउदै फाइलनमा प्रवेश गरेकी हुन् । सोही स्पर्धाको छात्रमा नोबेल एकेडेमीका श्यान्टू श्रेष्ठ फाइनलमा पुगे । सेमिफाइनलमा श्रेष्ठले एभिएमका आशिष शर्माको चुनौती ११–६, ११–९ र १२–१० ले पन्छाए । काठमाडौँ जिल्ला टेबलटेनिस सङ्घद्वारा आयोजित उक्त प्रतियोगिता भूकम्प पीडित राष्ट्रिय टेबलटेनिस खेलाडीलाई आर्थिक सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको हो ।