एकहजार र पाँचसय रुपैयाँका नक्कली नोट देखिए


रु एक हजार र पाँच सयका नक्कली नोट विराटनगर बजारमा देखिन थालेका छन् । असली नोटलाई रङ्गीन फोटोकपि मेसिनबाट रु एक हजार र रु पाँचसयको नोटको हुबहु देखिने गरी सेतो कागजमा प्रिन्ट गरेर असली नोटका रुपमा बजारमा प्रवाह गर्ने गरेको पाइएको छ । स कार्यमा संलग्न गिरोहले बडो सतर्कतापूर्वक बजारका भीडभाड भएका पसलका साथै नोटको कारोबार गर्ने आधिकारिक संस्थामा नोटको बन्डलमा एक÷दुई थान मिसाएर चलनचल्तीमा ल्याउने कार्यमा बढी सक्रिय छन् । झट्ट हेर्दा असली नोटजस्तै देखिने भएकाले जो कोही पनि झुक्किन सक्छन् । नेपाली नोटमा नक्कली हुँदैन भनी सर्वसाधारण विश्वासका साथ खल्ती वा सुरक्षित स्थानमा राख्ने गर्दछन् जबकी भारतीय नोटलाई उल्ट्याइ पल्टाइ हेरेर सक्कली नोट प्रमाणित भएपछि मात्र खल्तीमा राख्छन् । रङ्गीन फोटोकपि मेसिनबाट निकालिएको नक्कली एक हजारको नोटको आकार केही छोटो छ । नोटको चाँदीको धर्को कम टल्किने र अलि कालो देखिन्छ । वाटरप्रिन्ट देखिँदैन र असली नोटको तुलनामा कागज अलि मोटो र खस्रो छ । झट्ट हेर्दा जो कोेहीलाई नक्कली नोट हो भनी छुट्याउन गाह्रो हुन्छ । असली नोट पानीमा भिजे पनि खासै फरक पर्दैन तर फोटोकपि गरिएका त्यस्ता नोट पानीमा भिज्नासाथ नोटको रङ्ग तुरुन्त उड्ने गर्दछ । नक्कली नोटमा एक थोपा पानी खसाउँदा रङ्ग उडेर दागका रुपमा परिणत हुन्छ । यस सम्बन्धमा एक आधिकारिक संस्थाका कर्मचारी स्रोत उल्लेख नगर्ने सर्तमा बताउनुहुन्छ, “एकैचोटी बन्डलका बन्डल नोट आएका खन्डमा मेसिनबाट गन्ती गर्नुपर्दछ । मेसिनबाट गन्ती गर्दा नक्कली नोट हो भनी थाहा पाउन सकिँदैन । ढुकुटीमा राख्ने क्रममा औँलाले गन्ती गरेर राख्ने नियम छ । सो बखत नोट छुनासाथ नक्कली नोट हो भनी थाहा पाइन्छ ।” त्यस्ता नोट ल्याउने व्यक्तिको पहिचान नहुँदा प्रहरीलाई पनि जानकारी गराउन नसकिने अवस्था हुन्छ । सो नोट कसले ल्याएको लगायत विभिन्न प्रकारका प्रश्नको जवाफ दिनुभन्दा बरु सो बराबरको रकम तिरेर उक्त नक्कली नोटलाई जलाउने गरेको थाहा भएको छ । र्वसाधारण नेपालीलाई आफ्नो मुलुकको नोट नक्कली छैन भनी विश्वासको फाइदा उठाएर यस आपराधिक कार्यलाई त्यस्ता गिरोहले निरन्तरता दिइरहेका छन् । यस सम्बन्धमा मोरङका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले नक्कली नोटका विषयमा कतैबाट कसैले उजुरी नगरेको र यस विषयमा प्रहरी गहिरिएर लागेको जानकारी गराउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?