न्यूजिल्याण्डमा आगलागीका कारण एकै परिवारका तीन नेपालीको मृत्यु, तीन घाइते
न्यूजिल्याण्डमा आगलागीका कारण तीन नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय एक रेष्टुरेन्टका सञ्चालक ४९ वर्षीय तेजनारायण काफ्ले, श्रीमती टिका काफ्ले र ९ वर्षीय छोरा प्रेम काफ्ले छन् । उनका तीन छोरीहरु घाइते भएका कारण अहिले उपचार भइरहेको छ । घटनामा परी घाइते हुनेमा २३ वर्षीय छोरी तुलसा काफ्ले, १२ वर्षीय ममता काफ्ले र १६ वर्षीय मनिषा काफ्ले छन् । घटनाका कारण यतिबेला न्यूजिल्याण्डमा रहेको सम्पूर्ण नेपाली समूदाय स्तब्ध बनेको छ । दिवंगत भएकाहरुको शवलाई प्रहरीले पोष्टमार्टमपछि आज परिवारमा बुझाउने बताइएको छ । एनआरएन न्यूजिल्याण्डका संयोजक तेज भट्टराई, सदस्यहरु गोकुल भण्डारी, घनश्याम सापकोटा, ध्रुब खनाल, बुद्दिसागर घिमिरेलगायतले शोमा परेको परिवारको सहयोगका लागि पहल गरिरहेका छन् । काफ्ले परिवार न्यूजिल्याण्डमा रेष्टुरेन्ट व्यवसाय गरेर बसेको थियो । करिब १८ महिना पहिलादेखि उनीहरुले एभरेष्ट ईन्डियन रेष्टुरेन्टका नाममा यो व्यवसाय थालेका थिए । तेजनारायण सन् २००६ मा न्यूजिल्याण्ड आएका थिए । उनको परिवार भर्खरै सन् २०१३ मा मात्र आइपुगेको थियो । करिब १८ महिना अघिदेखि क्यान्टरबरी शहरमाको क्वीन स्ट्रीटमा रेष्टुरेन्ट सुरु गरेका हुन् । यसअघि उनीहरु क्रिष्ट चर्च क्षेत्रमा बसेका थिए । यतिबेला तेजनारायणका अभिभावहरु समेत नेपालबाट न्यूजिल्याण्ड भ्रमणमा आएका थिए । काफ्ले परिवारका चार छोरामध्ये जेठा तेजनारायण र बालकृष्ण न्यूजिल्याण्डमा छन् भने बाँकी भाईहरु नेपालमै छन् ।
यसरी भयो घटना
बुधबार विहान ७ः४१ बजे आपतकालीन सेवामा फोनको घण्टी बज्छ । उताबाट आगलागीको खबर आउने वित्तिकै करिब ४ मिनेटमै अग्नी नियन्त्रकहरु घटनास्थलमा पुगेका थिए । यसपछि आगलागी नियन्त्रणमा लिनका लागि ४५ मिनेट लागेको थियो । प्रहरीका अनुसार आगो काफ्ले परिवारको निजी किचेनबाट सुरु भएको थियो । आगलागीको कारणबारे अझै अनुसन्धान भइरहेको छ । आगलागीको बेला माथिल्लो तल्लामा रहेकी मनिषाले आफन्त विष्णु काफ्लेलाई बताए अनुसार आगलागी सुरु भएपछि उनीहरु झ्यालको सीसा फुटाएर बरण्डामा आएका थिए । यसपछि उनीहरुले काकालाई फोन गरेका थिए । झ्यालको सीसा फुटाउने क्रममा मनिषाको हातमा चोट लागेको छ । मनिषाले भनेकी छिन्, हामी निस्कँदा त्यहाँ बुबाआमालाई देखेनौं । वाईमेटका मुख्य अग्नी नियन्त्रक डोन्केन लेयल भन्छन्, हामीले तेज, टिका र प्रेमलाई छुट्टाछुट्टै कोठामा फेला पारेका हौं । सुरुमा पुग्ने बित्तिकै तीनजना छोरीहरुलाई उद्धार गरेर अन्यत्र खोजी गर्दा उनीहरु भेटिएका थिए । घटनास्थलको अध्ययनबाट उनीहरु सुतेकै अवस्थामा घटना भएको हो भन्न सकिन्न । कारण पत्ता लगाउन हामी प्रयास गरिरहेका छौं । तर, यो कुरा पक्का छ कि आगलागी तल्लो तलामा रहेको रेष्टुरेन्टको किचेनबाट सुरु भएको होइन ।
नेपाली समूदाय एक
यस दुःखद घडीमा सहयोगका लागि एनआरएन न्यूजिल्याण्डसहित नेपाली समूदायले सहयोग अभियान सुरु गरेका छन् । यो घटना जसलाई पनि पर्न सक्छ । यस्तोमा हामीले एकअर्कालाई सहयोग गर्नुपर्छ । अभिभावक गुमाएका तीन छोरीहरुको निम्ति पनि हामीले केही गर्नुपर्छ भन्दै यस्तो अभियान थालिएको हो । जसको अगुवाई एनआरएन न्यूजिल्याण्डका संयोजक चक्र थापाले गरेका छन् । जसमा अन्य १० परिवारले पनि साथ दिएका छन् । अर्कोतर्फ, वाईमेट मेयर सिराग रोउलेले यस दुःखद घडीमा सम्पूर्ण वाईमेट परिवारको साथमा भएको बताउँदै एभरेष्ट मेयरोल सपोर्ट फण्डको सुरुवात गरेका छन् । जसमा जोकसैले पनि परिवारलाई सहयोग गर्न सक्नेछ । खाता नम्बर ANZ 01 0893-00816-3600. रहेको छ ।