चीनको एक गोदाममा भएको विस्फोटमा मृत्यु हुने ५० पुगे, घाइते ७०१
चीनको एक गोदाम घरमा भएको विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुगेको चिनियाँ सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् । सो घरमा बुधबार राति भएको घटनामा ती नागरिक मारिएका हुन् । उनीहरूमध्ये अधिकांश मजदुर रहेका बताइएको छ । उत्तरी चीनको तियानजिन सहरमा रहेको एक गोदाम घरमा सो दुर्घटना भएको बताइएको छ । बिहीबार अपराह्नसम्ममा मृत्यु हुने व्यक्तिको सङ्ख्या ५० पुगेको बताइएको हो । साथै उक्त दुर्घटनामा परी कम्तीमा पनि ७०१ जना घाइते भएका छन् । घाइतेलाई अस्पताल भर्ना गरिएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । घाइतेमध्ये करिब ७१ जनाको अवस्था निकै गम्भीर रहेको बताइएको छ ।
राष्ट्रपति पुटिनद्वारा समवेदना व्यक्त
यसैबीच रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त विस्फोटबाट भएको चिनियाँ नागरिकको दुःखद् निधनले आफू मर्माहत भएको बताउनुभएको छ । उहाँले चिनियाँ राष्ट्रपति सि जिनपिङ्लाई एक समवेदना सन्देश पठाई सो घटनाले आफूलाई निकै दुःखी बनाएको बताउनुभएको हो । उहाँले राष्ट्रपति जिनपिङ्मार्फत उक्त घटनामा परी निधन भएका चिनियाँ नागरिकका आफन्तलाई समवेदना व्यक्त गर्नुभएको छ । साथै उहाँले उक्त दुर्घटनामा परी घाइते भएका सबैजना नागरिकप्रति शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ ।