आत्मघाती आक्रमणमा पाकिस्तानी प्रान्तीय मन्त्रीसहित १० जनाको मृत्यु
एक बम विस्फोटकर्ताद्वारा गरिएको आत्मघाती बम विस्फोटनमा परी पाकिस्तानका प्रान्तीय सरकारका उच्चमन्त्रीसहित १० जनाको आइतबार मृत्यु भएको यहाँका अधिकारीले जनाएका छन् । घटनामा पञ्जाब प्रान्तका गृहमन्त्री शुजवा खान्जादा, दुई प्रहरी अधिकारीसहित १० जनाले शहादत प्राप्त गर्नुभएको प्रमुख उद्धार अधिकारी मोहम्मद असफाकले बताउनुभयो । पञ्जाब प्रान्तका गृहमन्त्री खान्जादाको मृत्युको बारेमा उक्त प्रान्तका मुख्यमन्त्री राजनीतिक सल्लाहकार शाइद इलाहीले पनि पुष्टि गरिसक्नुभएको समाचार छ । विस्फोटनपछि मन्त्री खान्जादासहित कैयौँ अरु एटक जिल्लाको शादिखान गाउँमा अवस्थित घरको भग्नावशेषमुनि पुरिएका थिए । घटनाको तत्काल कसैले जिम्मेवारी लिएको छैन । मन्त्री खान्जादा करिब ४० जनासहित एक घर नजिकै रहेको खाली ठाउँमा समस्यामा परेका तथा घाइते नागरिकको उद्धारका बारेमा सल्लाह गर्दै हुनुहुन्थ्यो । खान्जादाले आफ्नो कालमा उक्त क्षेत्रमा विद्रोह गर्दै आएका साम्प्रदायिक लडाकू तथा तालिवानी विद्रोहीविरुद्ध सुरक्षा कारबाही गरी विद्रोहीको आन्दोलन निस्तेज पार्ने अभियानमा सक्रिय भूमिका खेल्दै आउनुभएको थियो ।