बिमलले नेतृत्व गर्दै १९ वर्षमुनीको राष्ट्रिय टिमको
पहिलोपटक हुन लागेको १९ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आज २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । विमल घर्तीमगरको कप्तानीमा रहेको टोलीमा तीन गोलकिपर, आठ डिफेन्डर, सात मिडफिल्डर र पाँचजना फवार्ड रहेका छन् । बेल्जियममा रहेका विमल भने शुक्रबार स्वदेश फर्कर्दै प्रशिक्षणमा सहभागी भइसकेका छन् । नेपाली टोलीको गोलकिपरमा सुजित गुरुङ, रोमन रसाइली र देवराज लिम्बू छन् । त्यस्तै डिफेन्डरमा अनन्त तामाङ, अमित तामाङ, टिचिरिङ गुरुङ, आकाश थापा, दिनेश राजबंशी, सुदन थापा, कमल श्रेष्ठ र गौरभ बुढाथोकी छन् । यसैगरी मिडफिल्डरमा हेमन्त थापामगर, डोना थापा, तेज तामाङ, किरण सुनुवार, विश्वास श्रेष्ठ, सुशन लामा, र सुनिल बाल छन् भने फवार्डमा अन्जन विष्ट, जानोममान लिगल, सुजित गुरुङ र शिव सुवेदी छन् । टोलीको मुख्य प्रशिक्षक भने बालगोपाल महर्जन हुनुहुन्छ । आगामी भदौ ३ गतेदेखि काठमाडौँमा सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालसहित बङ्गलादेश, भुटान, मालदिभ्स, भारत र अफगानिस्तान गरी छ राष्ट्रको सहभागिता रहनेछ । नेपालले आफ्नो पहिलो खेल भदौ ३ गते भुटानको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।