पहाडी शासक र खसविरुद्ध तरबार उठाउ भन्ने सभासद् अमरेश सिंहलाई कारबाही गर्न माग
सुदूरपश्चिमाञ्चल क्षेत्रका तीन सभासद्सहित नेपाली काँग्रेस र नेकपा(एमाले)का नेता तथा कार्यकर्ताले राष्ट्रिय अखण्डता सार्वभौमसत्ता र क्षेत्रीय एकता र सद्भावविरुद्ध अभिव्यक्ति दिने सभासद्लाई कारबाही गर्न माग गरेका छन् । नेपाली काँग्रेसका सभासद् अमरेशकुमार सिंहले केही दिनअघि थारु सङ्घर्ष समितिले आयोजना गरेको कार्यक्रममा क्षेत्रीय एकता र सद्भावलाई खलल पुग्ने गरी थारुहरुलाई तरबार उठाएर अघि बढ्न आग्रह गरेका थिए । यस्तो हिंसात्मक अभिव्यक्ति दिएपछि उनीहरुले कारबाहीका लागि संविधानसभाका अध्यक्ष, संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति र सम्बन्धित दललाई ध्यानाकर्षण गराएका हुन् । उनीहरुले अन्तरिम संविधानको भावना विपरीत जातीय सद्भाव खल्बल्याउने र हिंसाका लागि उत्प्रेरित गर्ने काममा सभासद् सिंहका अतिरिक्त सभासद् उपेन्द्र यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसमेत सहभागी भएको आरोप लगाएका छन् । उनीहरुले सुदूरपश्चिमाञ्चलको जनजीवन, भूगोल र प्रवेशद्वारको केन्द्रबिन्दुका रुपमा परिचित कैलाली जिल्ला टुक्रयाउन खोज्नेका विरुद्ध एकताबद्ध हुन तथा कैलाली र कञ्चनपुरमा वर्षौदेखि मिलेर बसेका राना थारु समुदायलाई विशेष अधिकार प्रदान गर्न आफूहरु दृढ सङ्कल्पित रहेको विज्ञप्तिमार्फत सार्वजनिक गरेका छन् । यसरी माग गर्नेमा सभासद् बद्री पाण्डे, गरिमा शाह, कृपाराम राना, प्रा डा प्रेम कुँवर, नेकपा(एमाले)का वैकल्पिक केन्द्रीय सदस्य झपट रावललगायत हुनुहुन्छ ।
कैलालीमा दिनभरि तनाव
छुट्टाछुट्टै रुपमा आन्दोलनमा उत्रिएका थरुहट पक्षधर र अखण्ड पक्षधरका कार्यकर्ताबीच झडपको स्थिति देखिएपछि सोमबार दिनभरि यहाँ तनावपूर्ण स्थिति रह्यो । थरुहट पक्षले आज स्थानीय क्याम्पस चोकमा गरेको आमसभामा सहभागी हुन आउन लागेका कार्यकर्ता चढेको ट्रयाक्टरलाई बन्दमा उत्रिएका अखण्ड पक्षधरले बाटामा अवरोध पु¥याएपछि उत्पन्न विवादसँगै स्थिति तनावपूर्ण रहेको हो । दुवै पक्षबीच सम्भावित झडप हुन नदिन केही सेल अश्रु ग्यास प्रहार गरी प्रदर्शनकारीलाई तितरवितर पार्नुपरेको प्रहरीले जनाएको छ । सो क्रममा दुवै पक्षले गरेको ढुङ्गा प्रहारबाट एक प्रहरीसहित दुवै पक्षका केही कार्यकर्ता सामान्य घाइतेसमेत भएको प्रत्यक्षदर्शीले बताएका छन् । थरुहट पक्षले केही दिनअघि टीकापुरमा गरेको सभामा केही मधेसकेन्द्रित नेताहरुले पहाडी समुदायलाई गालीगलोज गर्ने, पहाडी र थारु समुदायका बीचको सम्बन्धमा आँच पु¥याउने र देश टुक्र्याउने अभिव्यक्ति दिएको भन्दै अखण्ड पक्षधरका कार्यकर्ता आक्रोशित हुँदै आज बन्दमा उत्रिएका थिए । यसअघि आइतबार साँझ जिल्ला प्रशासन कार्यालयमा थरुहट, अखण्ड पक्षधर र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिबीचको बैठकमा आजको बन्दका दिन गाडी चल्न दिने सहमति भए पनि अखण्ड पक्षधरका अन्य कार्यकर्ताले सहमतिको विरोध गर्दै आह्वान गरेको बन्दका क्रममा यातायातको आवागमनसमेत ठप्प पारेका थिए ।