काँग्रेस अधिवेशन फेरि पर सर्दै, ६ महिना सार्ने तयारी


congressसंविधान निर्माणको बहाना गर्दै नेपाली काँग्रेसले आफ्नो महाधिवेशन फेरि सार्न लागेको छ । पार्टी सभापति र वरिष्ठ नेता शेरबहादुर देउवाबीच यस विषयमा सहमति बनिसकेपनि उचित समयमा घोषणा गर्ने तयारी भएको छ । अधिवेशन आउन एक महिना बाँकी रहेको अवस्थामा कुनै तयारी नभएपछि अधिवेशन सर्छ भनेर धेरैले अनुमान गरेका थिए । पार्टी सभापतिले विधान संशोधन गरेर विशेष परिस्थ्तििमा कार्यसमितले ६ महिना कार्यकाल थप्नसक्ने प्रावधान राख्ने र त्यसमै टेकेर यो सार्ने प्रस्ताव भएको हो । तर, शेरबहादुर देउवाले चाडपर्व सकिने वित्तिकै अधिवेशन गर्नुपर्ने बताएका छन् । हरेक पाँच वर्षमा महाधिवेशन गर्नुपर्ने अन्तरिम संविधानको व्यवस्थाले संवैधानिक संकट ल्याउने भएपछि ६ महिना थप्नसक्ने प्रावधान अन्तरिम संविधानमा नै राख्ने तयारी भएको छ । काँग्रेस भ्रातृसंगठनहरुको अधिवेशन एक दशकदेखि हुन नसकेको सन्दर्भमा काँग्रेसको महाधिवेशन पनि यस्तै हुने त होइन भन्ने आशंका बढेको नेताहरुले बताएका छन् । स्वयं काँग्रेसका नेताहरु नेतृत्वको यस किसिमको कार्यशेलीप्रति रुष्ठ देखिन्छन् तर काँग्रेसमा बोल्नसक्ने हिम्मत भने कुनै नेतामा छैन । काँग्रेस केन्द्रीय सदस्य धनराज गुरुंगले महाधिवेशनप्रति नेतृत्व उदासिन बनेको आरोप लगाउँदै संविधान निर्माणलाई बहाना मात्र बनाएको प्रतिक्रिया दिए । पार्टीको औपचारिक कार्यकाल एक वर्षअघि नै सकिएकोले अहिले आएर नभ्याएको भन्नु गलत भएको उनको भनाई छ । शीर्ष नेता संविधान निर्माणमा केन्द्रीत भएपनि अन्य नेता फुक्काफाल भएर घुमिरहेकोतर्फ ईंगित गर्दै उनले भने अरुले तयारी गर्न सक्दैनथे र ? अर्का केन्द्रीय सदस्य रेमश रिजालको ठम्याईमा पनि नेताहरुले महाधिवेशन टार्न खोजेको प्रष्ट भएको छ । सुशील कोइरालाको असक्षमताका कारण महाधिवेशन हुन नसकेको र भ्रातृ संगठनहरुमा पनि अलोकतान्त्रिक प्रक्रिया पद्धति स्थापित भएको उनले बताए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?