छमछम नाचेर नारी निकुञ्जले तीजको दर खाने कार्यक्रम आयोजना गर्दै
एनआरएन अष्ट्रेलियाको महिला मञ्च नारी निकुञ्जले तीज २०१५ को अवसरमा सिड्नीमा विशेष सांगीतिक साँझ आयोजना गर्ने भएको छ । तीजमा नेपाली महिलाहरु एकै ठाउँमा भेला भई वर्षभरीको सुखदुःख गीत र संगीतको माध्यमबाट एकअर्कासँग साटासाट गर्ने गर्दछन् । यही चलनलाई हरेक वर्षजस्तो तीज विशेष कार्यक्रम आयोजना गरी मनाउने गरेको नारी निकुञ्ज अष्ट्रेलियाले यस पटक भने तीजबाट उठेको रकम भूकम्प पीडितहरुलाई सहयोग गर्ने भएको हो । साथै, नारी निकुञ्जले नियमित रुपमा सञ्चालन गर्दै आएको पाठेघर खस्ने समस्या भएका महिलाको उपचारका लागि पनि निरन्तरता दिने भएको छ । नारी निकुञ्जकी सचिव प्रतिज्ञा अधिकारीले एमएनटीभीलाई दिएको जानकारी अनुसार आगामी शनिबार २२ अगष्टका दिन सिड्नीको ग्रानभिलस्थित ब्लाउजा कम्युनिटी हलमा हुने कार्यक्रमको सबै टिकट बिक्री भइसकेको छ । अधिकारीले भन्नुभयो, “हामीलाई सहयोग गर्ने स्पोन्सर, स्वयंसेवी र मिडियाका साथीहरुलाई धन्यवाद छ ।” नारी निकुञ्जकी अध्यक्ष सिर्जना संग्रौलाका अनुसार कार्यक्रमका “विविध खानाका परिकारहरु समेत हुनेछन् ।” यस्तै तीजका गीतमा नृत्य प्रतियोगिता, लक्की ड्र लगायत तत्कालै फोटो खिचेर तत्कालै धुलाउने व्यवस्था समेत गरिएको छ ।