सामाजिक एकता, सद्भाव र शान्तिका लागि क्रियाशील हुन सबै तह र तप्कासँग संसद्को अपिल
व्यवस्थापिका–संसद्ले मुलुक संविधान निर्णयको ऐतिहासिक चरणमा रहेकाले सबैलाई धैर्य र संयमित प्रदर्शन गर्न आह्वान गर्दै विशेष प्रस्ताव पारित गरेको छ । कैलालीको टीकापुर लगायतको स्थानमा भएको हिंसात्मक घटनाका बारेमा लिएर गृहमन्त्री वामदेव गौतमले संसद्बाट विशेष आह्वान गर्न आवश्यक रहेको जनाएपछि संसद्ले उक्त आह्वान गर्दै प्रस्तावलाई अनुमोदन गरेको हो । कैलालीको टीकापुरमा भएको घटनाप्रति सिङ्गो संसद् स्तब्ध गराएको जनाउँदै बैठकले उक्त घटनालाई दुःखद भनी खेद प्रकट पनि गरेको छ । बैठकमा विशेष प्रस्ताव प्रस्तुत गर्दै सभामुख सुवास नेम्वाङले मुलुक संविधान निर्माणको यो ऐतिहासिक अभिभारा पूरा गर्ने चरणमा रहेको बेलामा असन्तुष्टि र गुनासाको स्वर आउनुलार्ई स्वाभाविक भए पनि असन्तोषलाई लिएर हिंसात्मक गतिविधि हुन स्वीकार्य हुनै नसक्ने बताउनुभयो । बैठकले सम्पूर्ण जनसमुदाय, नागरिक समाज, राजनीतिक दल र सङ्घसंस्थालाई सामाजिक एकता, सद्भाव र शान्तिका लागि क्रियाशील हुन पनि अपिल गरेको छ । प्रस्तावमा भनिएको छ– ‘यस बेला हामी सबैले धैर्य र संयमित प्रदर्शन गर्न जरुरी छ । संसद्ले प्रशासन र सुरक्षाकर्मीलाई शान्ति सुव्यवस्था कायम गर्ने आप्mनो कर्तव्यपालनामा दृढ रहन पनि आग्रह गरेको छ ।”