आज जनैपूर्णिमा, नेपालभर रक्षाबन्धन गरी मनाइँदै, सिड्नीमा पनि कार्यक्रम
श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदैछ । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ । यस चाडका अवसरमा देशभर विहानैबाट मन्दिरहरुमा पुगी आफ्नो जनै फेर्नेहरुको भीड लागेको छ भने अष्ट्रेलियाको सिड्नी लगायतका विभिन्न शहरमा पनि पुरोहितले रक्षाबन्धन गरी यो चाड मनाउँदैछन् । सिड्नीको गिल्फोर्डमा रहेको श्रीपशुपतिनाथ मन्दिरमा रक्षाबन्धन विशेष कार्यक्रम भइरहेको छ । विहान ९ बजेदेखि सुरु भएको यस पूजामा पण्डित प्रकाश ढोडारीले उपस्थित नेपाली समूदायलाई रक्षाबन्धन डोरो बाँधीरहनुभएको छ । कार्यक्रम हिन्दू समाज अष्ट्रेलियाको आयोजनामा गरिएको हो । रक्षाबन्धनको दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले भन्नुभयो, “शास्त्रीय मान्यताअनुसार विशेषगरी तागाधारी (ब्राह्मण, क्षेत्री, वैश्य) वर्गले वर्षदिन वेद पढ्नुपर्ने र त्यसको साङ्गे (समाप्ति)को दिनका रुपमा जनै पूर्णिमालाई लिइन्छ,” उहाँले भन्नुभयो –“यस दिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा विष्णु महेश्वरको पूजा गरी जनै मन्तरेर त्यसलाई धारण गर्ने प्रचलन छ ।” तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनैपूर्णिमालाई ऋषि तर्पणी पनि भन्ने गरिएको छ । यो दिन पाटनको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, नुवाकोटको देवीघाटलगायतका धार्मिक क्षेत्रमा ठूलो मेलासमेत लाग्ने गर्दछ । तराई क्षेत्रमा दिदी बहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्ने चलन रहेकामा पछिल्ला वर्षमा पहाडी क्षेत्रमा पनि राखी बाँध्न थालिएको छ । नेवार समुदाय भने यस पर्वलाई गुन्हु पुन्हीको रुपमा मनाउँछन् । जनैपूर्णिमाका दिन मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ । खेतीपातीका क्रमममा थकित शरीरमा शक्ति प्रदान गर्न टुसा आएको पौष्टिक तत्वयुक्त क्वाँटी खाइनुले यसलाई प्रकृतिसम्मत पर्वका रुपमा पनि लिइन्छ ।