सेना खटिँदा टाउको दुखेकाहरु पुगे राष्ट्रपतिकोमा, सर्वोच्चले भन्यो, सेना परिचालन संविधान सम्मत


army1 (2)राष्ट्रपति डा रामवरण यादव समक्ष संविधान निर्माण प्रक्रियामा असन्तुष्टि जनाउँदै आएका राजनीतिक दलहरुले राजनीतिक समस्यालाई राजनीतिक तबरबाटै समाधान खोज्न आग्रह गर्दै आज ज्ञापनपत्र बुझाएका छन् । आन्दोलनरत मधेसवादी एवम् जनजाति गरी नौ दलले राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेर आज राष्ट्रपतिलाई आफ्नो मागसहितको ज्ञापनपत्र बुझाएका हुन् । तराईका विभिन्न जिल्लामा सेना परिचालन गरिनु असंवैधानिक भएकाले यो तत्काल फिर्ता गर्न राष्ट्राध्यक्षको हिसाबले राष्ट्रपतिलाई ध्यानाकर्षण गरिएको सङ्घीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले राससलाई जानकारी दिनुभयो । सेना परिचालन सुरक्षा परिषद्को सिफारिसमा मन्त्रिपरिषद्ले गरिनुपर्ने भए पनि गलत ढङ्गले निर्णय भएको भन्दै उहाँले राजनीतिक समस्यालाई प्रशासनिक समाधान खोज्ने सरकारले गलत बाटो लिएकाले त्यसलाई फिर्ता लिन आग्रह गरिएको बताउनुभयो । प्रदेश सीमाङ्कन र नामाङ्कन अन्तरिम संविधानको भावना र विगतका सहमतिअनुरुप हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो । राष्ट्रपति डा रामवरण यादवले तद्सम्बन्धी विषयमा आफ्नो पनि ध्यानाकर्षण भएको र सरकारसँग कुराकानी गरेको जानकारी दिँदै अधिकार माग्दा संयमित र शान्तिपूर्ण ढङ्गले हुनुपर्ने, आपसी सद्भाव खल्बल्याउने काम कसैबाट हुन नहुने धारणा राख्नुभएको वरिष्ठ नेता राईले जानकारी दिनुभयो । राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले राससलाई दिनुभएको जानकारीअनुसार सो भेटमा राष्ट्रपति डा यादवले सेना परिचालनका सम्बन्धमा बिहीबार नै प्रधानमन्त्रीको ध्यानाकर्षण भएको बताउनुभयो । राष्ट्रपति डा यादवले संविधान निर्माण गर्दा सबैका आ–आफ्ना कुराहरू हुन स्वभाविक छन्, राजनीतिकरुपमा आपसी प्रतिस्पर्धा चलिरहने कुरा हो तर त्यसो गर्दा सामाजिक सद्भाव र राष्ट्रिय अखण्डतामा कुनै आँच नपुगोस् भन्नेतर्फ हरेक पार्टी, समुदाय र नागरिक सचेत रहिदिन आग्रह गर्नुभएको पनि प्रेस सल्लाहकार दाहालले जानकारी दिनुभयो ।

यसैबीच, सर्वोच्च अदालतले सरकारले दङ्गाग्रस्त जिल्लामा नेपाली सेना परिचालन गर्नु संविधान र कानुन विपरीत गरिएको भन्ने पुष्टि हुन नसकेको ठहर गरेको छ । प्रधानन्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले प्रचलित संविधान र कानुन विपरीत सेनाको परिचालन गरिएको भन्ने कुरा पुष्टि हुन नसकेको ठहर गर्दै आज अनावश्यक रुपमा सुरक्षा बलको औचित्य, आवश्यकता र मनोबलमा समेत प्रभाव पार्ने नकारात्मक कुरा गर्न नहुनेसमेत स्पष्ट गरेको हो । सरकारले नेपाली सेना परिचालन गरेको विषय गैरसंवैधानिक भएको दाबी गरी बुधबार सर्वोच्च अदालतमा अधिवक्ता रोशनकुमार झा र यमकुमार योञ्जनले संयुक्तरुपमा रिट निवेदन दायर गर्नुभएको थियो ।  कैलालीलगायतका क्षेत्रमा सरकारले नेपाली सेना परिचालन गर्नु संवैधानिक भएको ठहर गर्दै उक्त इजलासले रिट निवेदनसमेत खारेज गरेको छ । यही भदौ ७ गते कैलालीको टीकापुरमा भएको थरुहटको आन्दोलनमा प्रदर्शनकारीले एसएसपीसहित सात सुरक्षाकर्मीको हत्या गरेपछि सरकारले सेना परिचालन गर्न स्थानीय प्रशासनलाई अनुमति दिएको थियो । सेना परिचालन गर्ने अन्तिम अधिकार राष्ट्रपतिको भएको दाबी गरी सर्वोच्च अदालतमा दायर गरिएको रिट निवेदनमा राष्ट्रपतिको अनुमतिबिना नै सेना परिचालन हुनु गैरसंवैधानिक भएको उल्लेख गरिएको थियो । व्यवस्थापिका–संसद्भित्रकोे विषयमा संसद् स्वयम् स्वतन्त्र रहने र त्यहाँबाट जो चाहिने जवाफ स्पष्टीकरण लिई उपयुक्त निर्णय लिन सक्ने जनाउँदै सर्वोच्च अदालतले त्यस विषयमा बाह्य हस्तक्षेप उचित नहुने जनाएको छ । सरकारले तीन दिनअघि भएको कैलाली घटनालाई लिएर आवश्यक परेको ठाउँमा सेना परिचालन गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई अधिकार दिएको थियो । सो बमोजिम कतिपय ठाउँमा सेना परिचालन भइसकेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?