झापाली समाज अष्ट्रेलियाको अध्यक्षमा दिपक खनाल चयन
नेपालको झापा जिल्लामा घर भई काम, पढाई वा अन्य विभिन्न सिलसिलामा अष्ट्रेलिया आई बसोबास गरेका नेपालीहरुको संगठन झापाली समाजको अध्यक्षमा दिपक खनाल चयन हुनुभएको छ । टेम्पेस्थित रिक्रियसन सिजर्भमा आयोजना गरिएको वार्षिक साधारणसभाले खनाल चयन गरेका अन्य पदाधिकारीमा उपाध्यक्ष दिपक चुडाल (न्यू साउथवेल्स) नेत्र पौडेल (भिक्टोरिया), रुपराज मैनाली सचिव, सहसचिव अशोक उप्रेति, कोषाध्यक्षमा अजय राजवंशी, सदस्यहरुमा अरुण बिमली, लक्ष्मण बिमली, सीताराम घिमिरे, धर्मेश राजवंशी, तीर्थ खतिवडा, मदन द्यौराली, सुमन दाहाल, विकास अधिकारी, अनुपमा न्यौपाने दाहाल रहेनुभएको छ । यस्तै विधानतः अघिल्लो कार्यकालको अध्यक्ष संरक्षक रहने प्रावधान अनुसार पूर्वअध्यक्ष दिनेश पोखरेल संरक्षक हुनुभएको छ । निर्वाचित पदाधिकारीको परिचय कार्यक्रममा बोल्दै झापाली समाजका संरक्षक भवानी ओलीले सकारात्मक चिन्तन र कर्मबाट झापालीहरुले अष्ट्रेलियामा ईमान्दार छवि निर्माण गरेको भन्दै यसलाई अगाडि बढाउन नयाँ कार्यसमितिले पनि थप योगदान दिने आशा व्यक्त गर्नुभयो । साथै उहाँले नयाँ कार्यसमितिका पदाधिकारीलाई संस्थाको गरिमालाई नयाँ उचाईमा लैजाने कार्यक्रम ल्याउन पनि आग्रह गर्नुभयो । झापाली समाजका संरक्षक दिनेश पोखरेलले आफ्नो कार्यकाल सम्पूर्ण रुपमा सफल भएको भन्दै यसक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । पोखरेलले अष्ट्रेलियामा रहेका नेपाली समूदायकाबीच झापाली समाज सशक्त रुपमा उपस्थित रहेको बताउँदै नयाँ कार्यसमितिको सफलताको कामना गर्नुभयो । कार्यक्रममा शुभकामना दिँदै एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले सशक्त रुपमा अघि बढिरहेको झापाली समाज अष्ट्रेलियाले अन्य समूदायसँगको सहकार्यलाई बढाउँदै लानुपर्ने भन्दै एनआरएन अष्ट्रेलिया सदैव झापाली समाजसँग सहकार्य गरेर हातमा हात मिलाई अघि बढ्न तत्पर रहेको बताउनुभयो । एमएनटीभीसँग प्रतिक्रिया दिँदै झापाली समाज अष्ट्रेलियाका अध्यक्ष दिपक खनालले अब झापाली समाजले झापाको शिक्षा विकासका निम्ति केन्द्रित रहेर काम गर्ने बताउनुभयो । केही समयमै कार्यसमितिको बैठक बस्ने र त्यसपछि कार्यक्रमहरु सार्वजनिक गरिने भन्दै उहाँले शिक्षासँगै अष्ट्रेलियामा रहेका झापालीहरुको दोश्रो पुस्ताका निम्ति संस्कार चिनाउने कार्यक्रम समेत ल्याउने बताउनुभयो । यससँगै खेलकुदको माध्यमबाट समाजमा सौहाद्र्रता बढाउने दिशामा पनि अघि बढ्ने उहाँको प्रतिबद्धता थियो । साधारणसभासँगै बार्बिक्यू समेत गरिएको थियो भने कलाकारहरुले विभिन्न प्रस्तुति पनि दिएका थिए । अध्यक्ष खनालको छोटो प्रतिक्रिया