असन्तुष्ट दलसँग वार्ता गर्न संविधान निर्माण प्रक्रिया दुई दिन रोकियो


threeप्रमुख तीन दलले असन्तुष्ट दलसँग वार्ता गर्न संविधान लेखनको जारी प्रक्रियालाई दुई दिन लम्ब्याउने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली काँग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी) को बैठकले असन्तुष्ट मधेस केन्द्रित दलको मागअनुसार नै वार्ताका लागि प्रक्रियालाई शुक्रबार र शनिबार दुई दिन लम्ब्याउने निर्णय गरेको हो । बैठकपछि एमालेका उपाध्यक्ष भीम रावलले बैठकमा संविधान लेखनको प्रक्रियालाई दुई दिन लम्ब्याएर भए पनि आन्दोलनरत असन्तुष्ट दललाई सहमतिमा ल्याउने निष्कर्ष निकालेको जानकारी दिनुभयो । तीन दलले असन्तुष्ट दलसँग वार्ताका लागि कुनै पूर्व सर्त स्वीकार नगरेको जानकारी गराउँदै उपाध्यक्ष रावलले भन्नुभयो – “वार्ताको समयपछि आइतबार बिहान ११ बजेदेखि संविधानका सबै प्रक्रिया अघि बढ्छन् ।” प्रदेश सीमाङ्कनको विषयलाई लिएर आन्दोलित तराई–मधेस केन्द्रित दलले वार्ताका लागि संविधान लेखनको प्रक्रियालाई स्थगन गर्न माग गर्दै आएका थिए । प्रमुख दलहरूले संविधानको विधेयकमाथिको दफबार छलफलसम्पन्न गर्दैछन् । काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधान लेखन प्रक्रिया र वार्ता सँगसँगै अगाडि बढाउन प्रमुख दल सहमत भएको जानकारी गराउँदै संविधानको प्रक्रियाबाट बाहिर गएका दललाई सहभागी गराउन दुई दिन प्रक्रिया लम्ब्याएको बताउनुभयो । संविधानसभामा दफाबार छलफल सकेर आजै शीर्ष नेताले बोलेपछि मतदानको प्रक्रिया अघि बढाउने तालिका निर्धारित थियो । शीर्ष नेताले अब आइतबार मात्रै बोल्ने सहमति भएको छ । एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधान लेखन प्रक्रियाबाट बाहिर रहेका दललाई प्रक्रियामा सहभागी गराउन दुई दिन प्रक्रिया स्थगन गरी वार्तालाई आजैबाट अघि बढाउन प्रयत्न गरिने बताउनुभयो । उहाँले संविधानको सामाजिक न्यायको धारामा समानुपातिक समावेशीको प्रावधान थप गर्ने र यसअघि वा हालसम्म कायम भएका जिल्लाको भूगोलमा पनि न्यूनतम एक निर्वाचन क्षेत्र कायम रहने गरी अन्य निर्वाचन क्षेत्रहरू समान जनसङ्ख्याका आधारमा मिलाउने भन्ने समझदारी भएको बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?