मेलबर्नमा एमआरपीको अर्को सेसन सञ्चालन हुँदै
आगामी नोभेम्बर महिनादेखि हस्तलिखित पासपोर्टले काम गर्ने छैन । यसैकारण यतिबेला देशभित्र पासपोर्ट शाखामा र देशाबाहिर रहेका कुटनीतिक नियोगहरुमा एमआरपी बनाउनेहरुको व्यस्तता देख्न सकिन्छ । अष्ट्रेलियामा पनि एमआरपीका लागि देशैभरि विविध सेसनहरु सञ्चालन गरिएका छन् । यसैक्रममा मेलबर्नमा फेरि पनि एमआरपी सेसन आगामी सेप्टेम्बर २६ तारिख शनिबारका दिन आयोजना हुने भएको छ । यसअघि सञ्चालन गरिएको एमआरपी सेसनमा निकै व्यवस्थित रुपमा दुई दिनभित्रै ७ सय जनाको एमआरपी फारम संकलन गर्ने सफलता मिलेको थियो । सेवाग्राहीलाई प्रिन्ट गर्नेदेखि एमआरपी भर्ने, सच्याउने समेत सुविधा भिक्टोरियास्थित महावाणिज्यदूतको कार्यालयले उपलब्ध गराएको थियो । व्यवस्थित सञ्चालन सम्पन्न भएपछि हौसिएका नेपाली दुतावास क्यानबेराका डेप्युटी चिफ अफ मिशन राजेन्द्र पाण्डेले प्रसन्नता व्यक्त गर्दै एमआरपी बनाउन छुटेकाहरु रहेको भए फेरि पनि आउने प्रतिबद्धता जनाएका थिए । पछिल्लो समय सिड्नी, ब्रिसबेन लगायतका क्षेत्रमा एमआरपी सेसन सञ्चालन गरिएपछि वाणिज्यदूतको कार्यालयमा भिक्टोरियामा पनि यस्तो सेसन पुनः सञ्चालन गर्न आग्रह आएको र त्यसैलाई आधार मानेर आगामी २६ तारिख नयाँ पासपोर्ट सेसन गर्न लागिएको हो । एमआरपी सेसनमा एनआरएन भिक्टोरिया राज्य परिषद्, भिक्टोरियास्थित वाणिज्यदूतको कार्यालय र नेपाली दूतावासले सहकार्य गरेका छन् । एमएनटीभीसँग कुरा गर्दै एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष केशव कँडेलले भन्नुभयो, “२६ तारिख विहान ११ बजेदेखि ४ बजेसम्म हामी पासपोर्ट सेसन सुरु गर्दैछौं । सम्भवतः भिक्टोरियामा नै गरिने यो अन्तिम सेसन भएकोले क्यानबेरासम्म जान नसक्ने साथीहरुले यहाँ आफैं उपस्थित भएर पासपोर्टको फारम भर्न सक्नुहुनेछ ।” यसैगरी भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले पनि सेसनमा सहभागी हुन र मौकाको सदूपयोग गर्न आग्रह गर्नुभएको छ ।