सीएनएन हिरो पुष्पा बस्नेत अष्ट्रेलियामा, मेलबर्नपछि शुक्रबार सिड्नीमा कार्यक्रम


nariसीएनएन हिरो २०१२ पुष्पा बस्नेत यतिबेला अष्ट्रेलिया भ्रमणमा छिन् । नेपालमा अनाथ बालबालिकाहरुको निम्ति काम गरेर विश्व्माझ नै छुट्टै पहिचान बनाउन सफल पुष्पाले मुख्यतः जेलमा रहेका बाबाआमाका छोराछोरीको निम्ति शिक्षाको प्रबन्ध गरेकी छिन् । उनको यो कार्यलाई विश्वले नै प्रशंसा गरेको छ । पुष्पा बस्नेत यतिबेला सिड्नी आइपुगेकी छिन् । बिहीबार विहान मात्रै सिड्नी आइपुगेकी उनी यसअघि मेलबर्नमा थिइन् । मेलबर्नमा एक च्यारिटी कार्यक्रम सम्पनन गरेर शुक्रबार नारी निकुञ्ज अष्ट्रेलियाको आयोजनामा हुन लागेको अर्को च्यारिटी डिनरमा सहभागी हुन पुष्पा आइपुगेकी हुन् । शुक्रबार साँझ हम्बुसमा रहेको अन्नपूर्ण नेपाली रेष्टुरेन्टमा आयोजना गरिएको कार्यक्रममा मुख्यतः पुष्पाले आफ्नो बालबालिका प्रोजेक्ट सम्बन्धी छोटो भिडियो रिपोर्ट प्रस्तुत गर्नेछिन् । यसपछि उनीसँग सहभागीहरुले अन्तरक्रिया गर्न सक्नेछन् । सादा जीवन उच्च विचार नै सफलताको कडी हो भन्ने धारणा राख्ने बस्नेत बालबालिकाहरुको निम्ति सहयोग समेत जुटाउन चाहन्छिन् । अहिलेसम्म उनले सञ्चालन गरेको पुतली घर सहयोगी हातहरुकै कारण यहाँसम्म आइपुगेको उनको धारणा छ । एनआरएन अष्ट्रेलियाको भगिनी संस्था नारी निकुञ्जकी सचिव प्रतिज्ञा अधिकारीले भनिन्, “यस्तो पवित्र काम गर्ने पुष्पालाई सहयोग गर्ने अवसर पाउनु हाम्रो लागि अत्यन्तै खुशीको कुरा हो । हामी सकेसम्म धेरै सहयोग गर्न चाहन्छौं र उनको अभियानमा साथ दिन चाहन्छौं । म अष्ट्रेलियामा रहेका सहयोगी मनहरुलाई यस कार्यक्रममा सहभागी बन्न र उनको अभियानमा साथ दिन आह्वान गर्न चाहन्छौं ।” मेलबर्नमा आयोजना गरिएको कार्यक्रमबाट ८ हजार ५ सय डलरभन्दा बढी सहयोग संकलन भएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?