टकला सभाषद् भनिने सञ्जय साह दोषी ठहर, थप एक वर्ष ९ महिना कैद


taklaसर्वोच्च अदालतले सद्भावना पार्टीका उपाध्यक्ष सञ्जय साहलाई अवैध हातहतियार मुद्दामा दोषी ठहर गर्दै एक वर्ष नौ महिना कैद सजाय र रु पाँच हजार जरिवाना गर्ने फैसला सुनाएको छ । यसअघि जनकपुर हत्याकाण्डमा पुर्पक्षका लागि थुनामा रहेका साहलाई अर्को अभियोगमा अदालतले घटना भएको १२ वर्षपछि दोषी ठहर गरेको हो । विसं २०६८ देखि अदालतमा विचाराधीन दुई मुद्दामा न्यायाधीश वैद्यनाथ उपाध्याय, देवेन्द्रगोपाल श्रेष्ठ र चोलेन्द्रशम्शेरको पूर्ण इजलासले पुनरावेदन अदालत जनकपुरको फैसला सदर गर्दै साहलाई दोषी ठहर गरेको अदालतका प्रवक्ता नहकुल सुवेदीले बताउनुभयो । उनलाई २०६० जेठ ३ गते धनुषाको सखुवा महेन्द्रनगर गाविसको बजारमा हतियारसहित पक्राउ गरी प्रहरीले मुद्दा लगाएको थियो । सो फैसलापछि साहले जनकपुर हत्याकाण्डबाहेक थप अभियोगमा जेल सजाय भोग्नुपर्ने भएको छ । यसअघि साहले जनकपुर बमकाण्डमा आफू संलग्न नरहेको भनी रिहा हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको मुद्दा खारेज भएको थियो । साहकै योजना र निर्देशनमा २०६८ वैशाख १८ गते जनकपुरमा बम विस्फोट गराएको जिकिर गर्दै उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर भएको थियो । अलग्गै मिथिला राज्यको माग गर्दै धर्नामा रहेका व्यक्तिलाई लक्ष्य गर्दै भएको बम विस्फोटनमा परी पाँच जनाको मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए । उक्त मुद्दा धनुषा जिल्ला अदालतमा विचाराधीन छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?