पुष्पा बस्नेतको पुतली घरमा रहेका दुई बालिकालाई छात्रवृत्ति दिने नारी निकुञ्जको घोषणा


Puspa Basnet copyनारी निकुञ्ज अष्ट्रेलियाले सीएनएन हिरो २०१२ पुष्पा बस्नेतले सञ्चालन गरेको पुतली घरका दुई बालिकाहरुलाई हरेक वर्ष छात्रवृत्ति दिने घोषणा गरेको छ । शुक्रबार साँझ सिड्नीमा आयोजना गरिएको पुष्पा बस्नेत सम्मान तथा सहयोग साँझमा यस्तो जानकारी दिइएको हो । नारी निकुञ्ज अष्ट्रेलियाकी संयोजक सिर्जना संग्रौलाले पुष्पा बस्नेतको अभियानमा साथ दिन पाउनु पक्कै पनि खुशीको कुरा हो भन्दै एउटी छोरीले गरेको साहसी काममा आपूmहरुले साथ दिन चाहेको बताइन् । यस्तै नारी निकुञ्जकी सचिव प्रतिज्ञा अधिकारीले अष्ट्रेलियाका विभिन्न राज्यमा पुष्पा बस्नेतको अभियानलाई सहयोग कार्यक्रम भइरहेको भन्दै नारी निकुञ्जले दुई बालिका शिक्षाको निम्ति छात्रवृत्तिमार्फत सहयोग निरन्तर जारी राख्ने बताइन् । हम्बुसमा रहेको अन्नपूर्ण रेष्टुरेन्टमा आयोजना गरिएको कार्यक्रममा सीएनएन हिरो २०१२ पुष्पा बस्नेतले आफ्नो यात्रा, भोगेका कठिनाईका विषयमा जानकारी गराएकी थिइन् । बस्नेतले जीवनमा सबैभन्दा खुशीको क्षण नै सीएनएन हिरो बनेर देश फर्किएपछि आफ्नो बुबाले दिएको माया भएको बताइन् । उनले निरन्तर लागिरहे कुनैपनि क्षेत्रमा सफलता पाउन सकिन्छ भन्ने उदाहरण आफै रहेको बताइन् । पुष्पाको भनाई छ, “एउटा औसतभन्दा पनि कम मैले समाजमा योगदान दिन सक्छु भने, सीएनएन हिरो जस्तो प्रतिष्ठित एवार्ड पाउन सक्छु भने अरुले अझ बढी गर्न सक्छन् ।” एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलसहितका पदाधिकारी र नेपाली समूदायका लब्धप्रतिष्ठित व्यक्तित्वहरु सहभागी रहेको कार्यक्रममा पुष्पाले जेलमा रहेका कैदीबन्दीका सन्तानको निम्ति सञ्चालन गरेको पुतली घर सम्बन्धी वृत्तचित्र पनि देखाइएको थियो । यस्तै कार्यक्रममा विभिन्न सामग्रीको लीलामीबाट समेत पुतली घरको निम्ति आर्थिक संकलन जुटाइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?