नेपालको संविधान २०७२ लाई एनआरएन अष्ट्रेलियाको स्वागत, दिपावली सम्पन्न
गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले नेपालको संविधान २०७२ जारी भएकोमा स्वागत गरेको छ । न्यू साउथवेल्सका लागि अवैतनिक महावाणिज्यदूतको कार्यालय नर्थ सिड्नीमा आयोजना गरिएको औपचारिक कार्यक्रममा ईलेक्ट्रोनिक दिप प्रज्वलन गरी संविधान बनेकोमा शुभकामना साटासाट गरिएको थियो । कार्यक्रममा बोल्दै एनआरएन प्रवक्ता मन केसीले देशमा संविधान आउनु अत्यन्तै हर्षको कुरा भएको र यसले गैरआवासीय नेपालीहरुलाई समेत समेट्ने सफलता पाएको बताए । केसीले कुनैपनि कुरा पूर्ण हुँदैन तर धेरैभन्दा धेरैले लोकतान्त्रिक पद्धतिबाट जारी गरेको संविधानलाई स्वीकार्नुपर्ने धारणा राखेका थिए । यसैगरी न्यूसाउथवेल्सका लागि अवैतनिक महावाणिज्यदूत दिपक खड्काले पनि संविधान निर्माणका लागि अहोरात्र खटिएका राजनीतिकमी, बुद्धिजीवीहरु धन्यवादको पात्र भएको भन्दै नमिलेका कुरालाई समय सापेक्ष सुधार गरेर अघि बढ्ने प्रतिबद्धता आइसकेको सन्दर्भमा वार्ताको माध्यमबाट अघि बढ्नुपर्ने बताए । खड्काले संविधानलाई आधा भरिएको गिलासको संज्ञा दिँदै भने, “आधा भरिइसकेको छ । हामीले भरी चाहेको हो भने विस्तारै भर्दै जान सक्छौं । कम्तिमा आधा त भरिएको छ यसमा खुशी हुनुपर्छ ।” यसैगरी एनआरएन संरक्षक ईन्द्रा वनले आपूmलाई संविधान आउँछ भन्ने विश्वास नलागेको भएपनि नेताहरुले एकताबद्ध भई देशलाई निकास दिएकोमा खुशी व्यक्त गरिन् । उनले असन्तुष्टहरु पनि नेपाली नै हुन् भन्दै समेट्ने तत्परता देखाउन अनुरोध पनि गरेकी छिन् । कार्यक्रममा एनआरएन ओसेनिया क्षेत्रीय उपसंयोजक भूमा लिम्बुले संविधान बनेकोमा खुशी व्यक्त गर्दै सफल कार्यान्वयनको निम्ति शुभकामना दिएकी थिइन् । कार्यक्रमको सभापतित्व गरेका एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले उपस्थित सबैलाई धन्यवाद दिँदै जनताले आफैंले चुनेका प्रतिनिधिमार्फत संविधान लेख्ने ऐतिहासिक सफलता प्राप्त गर्ने क्रममा भएका आन्दोलनमा आफ्नो ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै यो संविधानले दोहोरो खुशी दिएको बताए । उनले भने, “हामीले निरन्तर उठाउँदै आएको नागरिकताको निरन्तरताको विषयलाई संविधानमा समेटिएको छ । अब हामीले पनि देश र देशवासीको निम्ति एकीकृत लगानीको अवधारणाका साथ विकास, निर्माण र रोजगारी सिर्जनामा योगदान दिन जरुरी छ ।” कार्यक्रमको सञ्चालन एनआरएन अष्ट्रेलियाका सहसचिव भिष्म भण्डारीले गरेका थिए । कार्यक्रममा कोषाध्यक्ष डिला खरेल, प्रवक्ता ज्ञानेन्द्र रेग्मी, नारी निकुञ्जकी उपसंयोजक दिपा सापकोटा, एनआरएन आईसीसी डेप्युटी युथ कोअर्डिनेटर कृष्ण गिरी, पूर्वअध्यक्ष गणेश केसीसहित एनआरएन अष्ट्रेलियाका पदाधिकारीउपस्थित थिए भने सिड्नीमा रहेका व्यवसायीहरु, विद्यार्थी, सञ्चारकर्मीहरु पनि संविधान जारी भएको खुशीयालीमा सहभागी हुन पुगेका थिए ।