चेली उक्साएर मृगौला बेच्ने खोज्ने कृष्ण दमाईं पक्राउ
आर्थिक प्रलोभनमा पारी मिर्गाैला बेच्नका लागि नेपाली चेलीलाई उक्साएर भारततर्फ लैजाँदै गरेका नुवाकोट घर बताउने ४२ वर्षीय कृष्ण दमार्इंलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले पक्राउ गरेको छ । पैसाको प्रलोभनमा परी मिर्गाैला बेच्न दमार्इंसँगै भारत हिँडेका काठमाडौँस्थित बौद्धमोडमा ज्यामी काम गर्दै आएका ३० वर्षीया साइँली तामाङ र ३१ वर्षीया कल्पना भण्डारीलाई भने माइती नेपाल काँकडभिट्टाले पूर्वी नाकाबाट उद्धार गरेको छ । काठमाडाँैबाट काँकडभिट्टा आउने रात्रि बसमा आएर भारतीय सीमावर्ती पानीटङ्की बजारतर्फ जान लाग्दा काँकडभिट्टा नाकामा माइती नेपालका कर्मचारीले शङ्का लागेर सोधपुछ गर्दा दमाईं पक्राउ परेको काँकडभिट्टा इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । एउटा मिर्गाैला बेच्दा तीन लाख नगद दिने भनेपछि आफू मिर्गौला बेच्न तयार भएर भारत हिँडेको साइँली तामाङले प्रहरीसमक्ष बताएकी छिन् । उनले मिर्गौला निकाल्दा निको हुन तीन महिनाको समय लाग्ने र स्याहारका लागि साथी पनि खोज्न भनेपछि कल्पनालाई लिएर आएको बताइन् ।
मिर्गौला बेचबिखन कारोबारमा संलग्न दमार्इंले कल्पना भण्डारीलाई तीन महिनासम्म निःशुल्क खान बस्नसहित रु ५० हजार दिने आश्वासन दिएको कल्पनाले प्रहरीसमक्ष बताएकी छन् । ज्यामी काम गर्ने साइँली तामाङले काठमाडौँमा रहँदा नास्ता खाने होटलमा मिर्गाैला कारोबार गर्ने दमाईंसँग दुई महिनाअघिदेखि सामान्य चिनजान भएको र उसैले फकाएपछि आफू मिर्गाैला बेच्न तयार भएको बताएकी छन् । दुई वर्षअघि वैदेशिक रोजगारीमा कुबेत गएका श्रीमान्को अत्तोपत्तो नभएको र पाँच वर्षको छोरा लालनपालनमा समस्या भएका कारण मिर्गौला बेच्न तयार भएको साइँलीले बताइन् । दमाईंलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले मानव अङ्ग बेचबिखन उद्योगअनुसार कानुनी कारबाहीका लागि अनुसन्धान गरिरहेको जनाएको छ ।