दुई विश्व शक्ति राष्ट्रका राष्ट्रपतिले गरे चार घण्टा भेटवार्ता
चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति बाराक ओबामाबीच संयुक्त राज्य अमेरिकामा भेटवार्ता भएको छ । उहाँहरुबीच बिहीबार भेटवार्ता भएको बताइएको छ । उहाँहरुबीच चार घन्टासम्म भेटवार्ता भएको अमेरिकाबाट चिनियाँ समाचार समिति, सिन्ह्वाले जनाएको छ । सो समाचार समितिले उहाँहरुबीच द्वीपक्षीय सम्बन्धका साथै आपसी विविध विषयमा छलफल भएको बताएको छ । बिहीबार राति तीन घन्टासम्म भएको सो वार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्ध विस्तारका साथै आपसी समझदारीमा सघाउने पु¥याउने अपेक्षा आफूले गरेको राष्ट्रपति सिले जानकारी दिनुभयो । चीनमा कुनैपनि विदेशी लगानी तथा व्यापार प्रवर्धनका लागि चीनले कहिल्यै पनि अप्ठेरो अवस्थाको सिर्जना नगरेको भन्दै चीनले सबै विदेशीहरुका लागि आवश्यक पारदर्शी वातावरण सिर्जना गर्ने जानकारी पनि दिनुभयो । विदेशी लगानीकर्ताका लागि चीनले कहिल्यै पनि ढोका बन्द नगरेको र व्यापार प्रवर्धनमा चीन सरकार सधैँ सकारात्मक रहेको बारेमा आफूले जानकारी गराएको पनि उहाँले बताउनुभयो । राष्ट्रपति सि बिहीबारमात्र वासिङ्टन पुग्नुभएको हो । तर उहाँ तीन दिनदेखि अमेरिकाको भ्रमणमा हुनुहुन्छ । उहाँले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा नै अमेरिकाको राजकीय भ्रमणको कार्यक्रम मिलाउनुभएको हो ।
ओबामा पुटिन पनि भेट्दै
यसैबीच अमेरिकी राष्ट्रपति बाराक ओबामा र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनबीच पनि आगामी हप्ता भेटवार्ता हुने भएको अर्काे एक समाचारमा जनाइएको छ । सिरियाका विषयमा उहाँहरुबीच भेटवार्ता हुनसक्ने अपेक्षा गरिएको बेला उहाँहरुबीच सो वार्ता हुन लागेको बताइएको छ । रसियाली राष्ट्रपति पुटिनले सो भेटका लागि अमेरिकी राष्ट्रपति बाराक ओबामालाई दिनुभएको निमन्त्रणा ओबामाले स्वीकार गर्नुभएको हो । आगामी सोमबार उहाँहरुबीच न्युयोर्कमा भेटवार्ता हुने छ । रसियाली राष्ट्रपति पुटिन संयुक्त राष्ट्रसंघमा सहभागिताका लागि अमेरिका जादै हुनुहुन्छ ।