नेपाली अष्ट्रेलियन युवाहरुको संगठन नयामा पुनः कोमल पाठकको नेतृत्व


0U2A5548नेपाली अष्ट्रेलियन युथ एशोसिएसन (नया) को साधारणसभा सम्पन्न भएको छ । शनिबार सम्पन्न साधारणसभाले वर्तमान सभापति कोमल पाठकलाई नै अर्को कार्यकालको लागि चुन्दै कार्यसमिति बनाएको छ । साधारणसभापछि आइतबार आयोजना गरिएको रात्रीभोजसहितको कार्यक्रममा नयाले यस्तो जानकारी दिएको हो । नयाका अनुसार व्यवस्थापन समितिलाई भंग गर्दै निर्देशक समूह निर्माण गरिएको छ । जसमा भुपाल सिटौला, प्रकाश जिसी र शेष पाठक रहेका छन् । यस्तै नयाँ कार्यसमितिको महासचिवमा प्रकाश खरेल, उपाध्यक्षहरुमा सुबोध भण्डारी, लक्ष्मण सापकोटा, सन्ध्या शाह रहेका छन् । यस्तै पब्लीक अफिसरमा सुभाष ज्ञवाली, सचिवमा निजन चौलागाईं, सहसचिवमा दिपेन्द्र भण्डारी र कोषाध्यक्षमा विपिन थापा चुनिएका छन् । नयाका नवनिर्वाचित अध्यक्ष कोमल पाठकले भने, दोश्रो कार्यकालका लागि पनि चुनेर जुन विश्वास तपाईंहरुले देखाउनुभएको छ । म त्यसलाई थप अभिबृद्धि गर्नेछु । एनआरएनका प्रवक्ता मन केसीको प्रमुख आतिथ्यमा सम्पन्न आइतबारको कार्यक्रममा यसअघिको कार्यसमितिलाई बिदाई गर्दै नयाँ घोषणा गरिएको हो । कार्यक्रममा बोल्दै एनआरएन प्रवक्ता मन केसीले अष्ट्रेलियामा रहेका नेपाली युवाहरुलाई समेट्ने अभियानका साथ दुईवर्षअघि गठन गरिएको नयाले आफ्नो उद्देश्यमा सफलता पाएको भन्दै बधाई दिएका थिए । कार्यक्रममा एनआरएन ओसेनिया क्षेत्रीय उपसंयोजक भोमा लिम्बु, अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल, एनआरएन अष्ट्रेलिया न्यू साउथवेल्स राज्य परिषद् संयोजक दिनेश पोखरेल, संस्थाका संरक्षक महेन्द्र लम्साल लगायतले संस्थाले हासिल गरेका उपलब्धीहरु महत्वपूर्ण रहेको भन्दै एकताबद्ध भई अघि बढ्न शुभकामना दिएका थिए । 0U2A5515कार्यक्रममा बोल्दै निर्देशक समूहका सदस्य भुपाल सिटौला र नवनिर्वाचित महासचिव प्रकाश खरेलले, नेपाली युवाहरुलाई समेट्ने कार्यक्रम गर्दैजाने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा वितेको कार्यकालमा नयाले गरेका कार्यहरु समेटिएको भिडियो रिपोर्ट पनि कार्यक्रममा देखाइएको थियो भने राजुकमार गोश्वामी, ईश्वर पोखरेल लगायत विभिन्न कलाकारहरुले आफ्ना प्रस्तुतिले उपस्थित दर्शकहरुलाई मनोरञ्जन दिएका थिए । नयाँ सदस्यहरुसहित पूर्ण कार्यसमिति केही समयपछि सार्वजनिक गर्ने बताइएको छ । कार्यक्रमको सञ्चालन पूर्वमहासचिव भिष्म भण्डारीले गरेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?