पुटिनलाई सिरियामा सेना पठाउने अनुमतिलगत्तै हवाई आक्रमण तिव्र
रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनलाई सिरियामा सेना पठाउने अनुमति प्राप्त भएको छ । यस अनुमति लगत्तै रसियाले सिरियाका विभिन्न ठाउँमा आक्रमण सुरु गरेको छ । जसमा कैयौं घाइते भएका छन् । अमेरिकालाई एक घण्टे पूर्वजानकारी दिएर रुसले थालेको यो कारवाही मुख्यतः सरकार विरोधी समूहहरु हुने देखिन्छ । यद्यपि आइएसआईएसविरुद्धको कारवाहीको नाममा रुसले सिरियाली राष्ट्रपतिको पद जोगाउने प्रयास गरेको अमेरिकाको आरोप छ । रसियाली संसद्को माथिल्लो सभाले राष्ट्रपति पुटिनलाई सिरियामा सेना पठाउने अनुमति दिएको बताइएको छ । रसियाली राष्ट्रपति कार्यालयका प्रशासकीय प्रमुख अधिकारी सेर्गेई इभानोभले बुधबार संसद्को सो निर्णयका बारेमा जानकारी गराउनुभएको समाचारमा जनाइएको छ । रसियाली तास समाचार समितिले दिएको जानकारीअनुसार रसियाली संसद्को माथिल्लो सभा फेडरेसन काउन्सिलले राष्ट्रपति पुटिनले सिरियामा सेना पठाउनका लागि संसद्मा गरेको प्रस्ताव पारित गरेको हो । यसअघि सिरियामा सेना पठाउनका लागि राष्ट्रपति पुटिनले सो अनुमति माग्नुभएको थियो । सोही बमोजिम संसद्ले अनुमति दिएको हो । सिरियामा आइएसका विरुद्धको कारबाहीका लागि विश्वका कैयौँ देशका सेना पुगेका छन् । सो कारबाहीमा रसियाले पनि आफ्नो सेना पठाउने तयारी गरेको हो ।