देउवादेवी रञ्जित रेसम्म सबै भन्छन् समस्या चाँडै समाधान हुन्छ
नेपाली काँग्रेसका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको विद्यमान समस्याको वार्ता र संवादका माध्यमबाट तत्काल समाधान गर्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय अहिंसा दिवस तथा १४६औँ गान्धी जयन्तीका सन्दर्भमा महेन्द्रनारायण स्मृति प्रतिष्ठानद्वारा आयोजित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान र चुनौती विषयक कार्यक्रममा उहाँले जारी समस्या चाँडो समाधान हुने विश्वास व्यक्त गर्नुभयो । भारतबाट समान नआउँदा नेपाली जनजीवन अत्यन्त प्रभावित भएको बताउँदै नेता देउवाले रोकिएका समान भारत सरकारले सहजरुपमा पठाउनुपर्ने बताउनुभयो । मधेसमा जारी आन्दोलन छोड्दै वार्ताका माध्यमबाट समस्याको समाधान गर्न आन्दोलनरत पक्षसँग आग्रह गदै उहाँले समानुपातिक, समावेशीतालगायतका विषयमा संविधान संशोधनका लागि मन्त्रिपरिषद्ले गरेको निर्णय जारी राजनीतिक गतिरोध अन्त्यका लागि महत्वपूर्ण हुने धारणा राख्नुभयो ।
विश्वमा अहिंसात्मक आन्दोलनका माध्यमबाट जायज माग पूरा गर्न सकिन्छ भन्ने सन्देश दिएका महात्मा गान्धीले जस्तै नेपालमा महेन्द्रनारायण निधिले उक्त सन्देशलाई प्रवाह गरेकोमा उहाँले जोड दिनुभयो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले महेन्द्रनारायण निधि जस्तै अहिंसा, सरलता जस्ता धेरै आदर्शपरक गुण वर्तमानमा पनि उत्तिकै आवश्यक भएको बताउनुभयो । ेशको जारी सङ्कट केही दिनभित्रमा नै समाधान हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । नेपालका लागि भारतका राजदूत रणजीत रायले नेपाल भारतबीचको लामो समयदेखिको सुमधुर सम्बन्ध आगामी दिनमा अझै प्रगाढ भएर जाने बताउँदै विद्यमान समस्या चाँडै नै समाधान हुने उल्लेख गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम दाहालले देशको जारी समस्याका कारण जनजीवन निकै असहज भएकाले तत्काल समस्या समाधान गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँड, महेन्द्र यादवलगायतले देशमा देखिएका समस्या समाधान गर्दै अग्रगमन र विकासको मार्गमा अघि बढ्नुपर्ने बताउनुभयो । उक्त अवसरमा प्रतिष्ठानद्वारा प्रकाशित महेन्द्रनारायण निधि स्मृति स्मारिका तृतीय सोपान र सञ्जय पन्थीद्वारा लिखित वापु गान्धी लोकार्पण गरिएको थियो ।