एक लाख डलरको परोपकारी अक्षयकोष बनाउने चितवन समाज अष्ट्रेलियाको निर्णय
सिड्नीको एसफिल्ड पार्कमा सम्पन्न चितवन समाज अष्ट्रेलियाको दोश्रो साधारणसभाले एक लाख डलरको अक्षयकोष खडा गर्ने निर्णय गरेको छ । अक्षयकोषले चितवन जिल्ला घर भई अष्ट्रेलियामा बसोबास गर्नेहरुलाई र चितवनमा पनि विभिन्न कार्यक्रमहरु आयोजना गर्ने तयारी पनि समाजले गरेको छ । साथै साधारणसभाले बुद्धि डल्लाकोटीलाई अध्यक्षमा चयन गरेको छ भने उपाध्यक्षमा छवि सापकोटा, सचिवमा अनिल पोखरेल, सहसचिवमा धर्मराज अधिकारी, कोषाध्यक्षमा पुरुषोत्तम सडौला, सहकोषाध्यक्षमा सीता सुवेदीलाई पनि चुनेको छ । यसैगरी पब्लीक रिलेशन अफिसरमा रोशन घले छन् । यस्तै सदस्यहरुमा शेष पाठक, विकास बर्तौला, जितेन्द्र सापकोटा, कृष्ण शर्मा, निरञ्जन विशुराल, शर्मिला घिमिरे, विनोद पौडेल, मुकुन्द भट्टराई, रामचन्द्र सापकोटा, उत्तम सडौला, रमेश थापा, लेख गुरुंग र पूर्ण घिमिरे रहेका छन् । यस्तै, चितवनबाट अष्ट्रेलिया आई विभिन्न उच्च पदमा पुग्न सफल व्यक्तित्वहरु, प्राध्यापक, व्यवसायी सम्मिलित १५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ । चितवन जिल्ला घर भई अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुलाई समेट्नका लागि गठन गरिएको संस्थाले आफ्नो दोश्रो साधारणसभा मनाएको हो । साधारणसभाबाट घोषणा गरिएको एक लाख डलरको अक्षयकोषका लागि शनिबार मात्रै १५ हजारभन्दा बढी सहयोग संकलन भइसकेको छ । विहान सम्पन्न साधारणसभाले नयाँ नेतृत्व चयन गरेको थियो भने यस लगत्तै बार्बिक्यूसहितको भेला आयोजना गरिएको थियो । बार्बिक्यूपछि आयोजना गरिएको औपचारिक कार्यक्रममा बोल्दै एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले समाजहरु बन्नु खुशीको कुरा हो भन्दै चितवन समाज शशक्त रुपमा नेपाली समूदायमाझ आउने आशा व्यक्त गरेका थिए । यस्तै एनआरएन एससीसी न्यूसाउथवेल्सका संयोजक दिनेश पोखरेलले कुनैपनिप्रकारको सहयोग र सहकार्य गर्न तयार रहेको बताएका थिए । कार्यक्रममा एनआरएन अष्ट्रेलियाका कोषाध्यक्ष डिला खरेल, प्रवक्ता डा. ज्ञानेन्द्र रेग्मी, निर्वाचित आईसीसी सदस्य केशव सापकोटा लगायतका वक्ताहरुले शुभकामना दिएका थिए । यस्तै कार्यक्रममा वेलफेयर फण्डको निम्ति खडा गर्न लागिएको अक्षयकोषका लागि सहयोग गर्ने दताहरुलाई परिचय समेत गराइएको थियो । कार्यक्रमलगत्तै एमएनटीभीसँग कुरा गर्दै समाजका अध्यक्ष बुद्धि डल्लाकोटीले भने, “केही काम गरेर देखाउनुपर्दछ भनेर हामीले पहिलो सर्तका रुपमा आर्थिक व्यवस्थापनमा जोड दियौं । यसैले हामीले एकवर्षभित्र एक लाख डलर संकलन गरी अक्षयकोष बनाउने निर्णय गरेका हौं । आजै मात्र पनि १५ हजारभन्दा बढी संकलन भइसकेको छ । हामीलाई आशा छ हामी लक्ष्यमा चाँडै पुग्नेछौं । यस कोषबाट नेपालको चितवन जिल्लामा स्वास्थ्य र शिक्षामा सहयोग गर्ने योजना छ । साथै, अष्ट्रेलियामै रहने चितवन जिल्लावासीहरु कसैलाई कुनै समस्या परेको छ भने पनि उनीहरुका समस्या समाधानमा अग्रणी भूमिका खेल्ने हाम्रो योजना छ । हामी अष्ट्रेलियाभरका चितवनवासीलाई यस संस्थामा आबद्ध हुन आग्रह गर्दछौं ।” संस्थाको सदस्यताको निम्ति १० डलर शुल्क तोकिएको छ । फोटोफिचरका लागि हाम्रो फेशबुकपेज हेर्नुहोला ।