प्रदीप नेपालको पुस्तक विमोचनमा एमाले अध्यक्ष ओलीले भने उखान भन्नेले पनि चलाउँछ देश
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्ना अभिव्यक्तिमा उखान–तुक्का प्रयोगबारे हुने आलोचनाबाट दुःखित नहुने बताउनुभएको छ । लेखक तथा राजनीतिज्ञ प्रदीप नेपालको नयाँ यात्रा निबन्ध ‘कुञ्जिनीको गामवेंशी’ को आज यहाँ लोकार्पण गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “उखानेले कसरी देश चलाउँछ भनेर पनि मलाई भन्ने गर्छन् तर पञ्चायतकालमा भूमिगत हुँदादेखि वा जेलमा रहँदा दुःख मनाउका बेला अरू गीत गाउँथे, म उखानको प्रयोग र आपसी रमाइलो तथा आनन्द दिलाउँथे ।” प्रधानमन्त्री पदका दाबेदार रहनुभएका अध्यक्ष ओलीले आफ्ना मालेकालदेखि सहयात्री रहनुभएका लेखक नेपाल बहुआयामिक व्यक्तित्वका धनी भएको बताउँदै राजनीति र सङ्गठनको कामसँगै साहित्यिक यात्रालाई एकैसाथ लान सक्नुभएकामा प्रशंसा गर्नुभयो । लेखक नेपालले आफ्नो बाह्राँै यात्रा निबन्धका रुपमा ‘कुञ्जिनीको गामवेशी’ ल्याएको बताउनुभयो । साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले आर्थिकरुपमा जर्जर भएको संस्थालाई बचाउन विभिन्न अभियान सञ्चालन गरिएको बताउनुभयो । अक्फोर्ड इन्टरनेसनल पब्लिकेसन्सद्वारा प्रकाशित सो पुस्तकमा २१ वटा नियात्रा समावेश छन् ।
पुस्तक प्रदर्शनीमा
पठन संस्कृतिको विकास गर्न नेपाल प्रज्ञा प्रतिष्ठान र साझा प्रकाशनले कमलादीमा आयोजना गरेको ‘बृहत् पुस्तक प्रदर्शनी’को अवलोकन गरी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज विभिन्न साहित्यिक पुस्तक खरिद गर्नुभएको छ । अध्यक्ष ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटा, बिपी कोइरालालगायत प्रसिद्ध साहित्यकार र अन्य स्रष्टाका कृति खरिद गर्नुभयो । उहाँले देवकोटाको चर्चित खण्डकाव्य ‘मुनामदन’, राष्ट्रकवि माधवप्रसाद घिमिरेको शोककाव्य ‘गौरी’, बिपी कोइरालाका ‘आफ्नै कथा’, ‘सुम्निमा’, ‘तीन घुम्ती’, डा कुमारबहादुर जोशीको ‘देवकोटाको कविताकृतिको कालक्रमिक विवेचना’, नित्यराज पाण्डेको ‘महाकवि देवकोटा’, मदनमणि दीक्षितको ‘माधवी’, डायमण्डशमशेर राणाको ‘सेतो बाघ’, भूपी शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’, यदुनाथ खनालको ‘यदुनाथ खनालका समालोचना’, लगायत दुई दर्जन पुस्तक खरिद गर्नुभयो । उहाँले खरिद गरेका अन्य पुस्तक डा दयाराम श्रेष्ठको ‘भीमनिधि तिवारीका रचना’, दामोदर पुडासैनी किशोरको ‘आफन्तका अनुहार’, विष्णु प्रभातद्वारा लिखित ‘गोविन्द भट्टका दार्शनिक रचना’, गोविन्द लोहनीको ‘गोविन्द लोहनीका रचना’ तथा प्रतिष्ठानको मैथिली पत्रिका ‘दीनाभद्री’ आदि थिए । अध्यक्ष ओलीलाई साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले प्रदर्शनीबारे अवगत गराउनुभएको थियो । दुई हप्ते सो प्रदर्शनी यही असोज २६ गतेसम्म जारी रहनेछ ।