बाबुराम भट्टराई कैलालीमा, संविधान संशोधन गरेर समाधान गर्न सकिने
पूर्वप्रधान मन्त्री डा बाबुराम भट्टराईले संविधानसभाबाट बनेको संविधानलाई संशोधन गरेर थरुहट÷थारुवान र मधेसको समस्या समाधान गर्न सकिने बताउनुभएको छ । आन्दोलनरत थरुहट÷थारुवानद्वारा कैलालीको मसुरियामा आयोजित आमसभामा डा भट्टराईले थारु र पहाडी सबैले मिलेर एकै ठाउँमा बस्नुपर्ने भएकाले प्रदेशको विषयलाई लिएर उत्पन्न विवाद दुवै पक्षले मिलेर समाधान खोज्नुपर्नेमा जोड दिनुभयो । आदिवासी, मधेसी, जनजाति, शोषित पीडितको मुद्दा संविधानमा जसरी समेटिनुपर्ने थियो, त्यसरी नसमेटिएकाले आफूले सभासद् र पार्टीबाट नै राजीनामा दिएको उहाँले प्रष्ट पार्नुभयो । हालै एनेकपा माओवादी पार्टी परित्याग गरी देश दौडाहमा रहनुभएका डा भट्टराईले अब एनेकपा माओवादी पार्टी जनभावनाहीन पार्टी बनेको धारणा राख्नु भयो । “अब एमाओवादी जनयुद्धको बलिदानीबाट बनेको पार्टी रहेन”– उहाँले भन्नुभयो– “एमाओवादीबाट आशा गर्नु बेकार हो ।” उहाँले संविधान निर्माणपछि देश अर्को चरणमा पुगिसकेको उल्लेख गर्दै अब नयाँ आर्थिक युग निर्माणका लागि जुट्नुपर्ने बेला आएको बताउनुभयो । थरुहट तराई पार्टीका अध्यक्ष भानुराम चौधरीले आफूहरुको आन्दोलन सुरु भएको लामो समय भइसक्दा पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो । कार्यक्रमको सुरक्षाका लागि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
स्थानीय प्रशासनले शान्ति सुरक्षाको अवस्था अझै चुनौतीपूर्ण रहेको भन्दै केही दिनअघि डा भट्टराईलाई हाल कैलालीका कुनै पनि कार्यक्रममा नआउन र सहभागी नहुन आग्रह गरेकामा प्रशासनको आग्रह विपरीत डा भट्टराई कैलाली पुग्नुभएको हो ।