काँग्रेसले भन्यो, सरकार आपूर्तिको व्यवस्था छिटो मिलाउ
नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले तराईमा आन्दोलनरत दलसँग वार्ता भइरहेको बताउँदै त्यहाँको समस्या छिटो समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीसमेत रहनुभएका सभापति कोइरालाले नेका केन्द्रीय कार्यसमितिको बालुवाटारमा बसेको बैठक प्रारम्भ गर्दै यस्तो विश्वास व्यक्त गर्नुभएको हो । बैठकमा केन्द्रीय सदस्यद्वय डा शेखर कोइराला र अर्जुननरसिंह केसीले आगामी सरकारको नेतृत्व ठूलो दल भएको नाताले काँग्रेसले नै गर्नुपर्ने बताउनुभयो । तराईका दलसँग वार्ता गर्न गठित टोलीका सदस्य एवम् वनमन्त्री महेश आचार्यले वार्तामा भएका प्रगतिबारे बैठकमा जानकारी गराउनुभएको थियो । केन्द्रीय सदस्य गगन थापाले भारतले अहिले नाकाबन्दी नै गरेकाले पार्टी स्पष्ट भएर विचार सार्वजनिक गर्नुपर्नेमा जोड दिनुभएको थियो । केन्द्रीय सदस्यद्वय बालकृष्ण खाँण र मानबहादुर विश्वकर्माले पनि आजको बैठकमा आ–आफ्नो धारणा राख्नुभएको केन्द्रीय सदस्य महेन्द्रकुमार शर्माले जानकारी दिनुभयो । “विगत सात हप्तादेखि मधेस÷तराई भागमा भइरहेका बन्द, हडताल, तोडफोड र अवरोधले देशको जनजीवन अस्तव्यस्त हुनाका साथै उद्योग, वाणिज्य, पर्यटन, स्वास्थ्य, शैक्षिक एवम् अन्य सेवाका क्षेत्र गम्भीर रुपले प्रभावित भइरहेकामा विगत दुई सातादेखि भारतीय नाकामा व्यापारिक एवम् पारवहन अवरोधका कारण देशभरको जनजीवन थप कष्टकर भएको छ” – पार्टीका मुख्यसचिव ऋषिकेश तिवारीले बैठकपछि जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । बैठकले इन्धन लगायत उपभोग्य सामग्री एवम् औषधि जस्ता अत्यावश्यक वस्तुको आपूर्तिमा असहजता आएकाले सुलभ गराउने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । चाडबाड अगाडि यातायात र हवाई सेवा समेत प्रभावित भएकाले समस्या समाधानको पहल यथाशीघ्र गरिनुपर्नेमा बैठकले जोड दिएको छ । विनाशकारी भूकम्पपछि प्रारम्भ हुन लागेको पुनःनिर्माण कार्य पछाडि धकेलिएको र देशका कतिपय भागमा मानवीय सङ्कट सिर्जना हुने खतरा समेत देखिएको काँग्रेसले जनाएको छ ।
बैठकले मधेस÷तराईमा आन्दोलनरत दलहरूलाई विरोधका समग्र कार्यक्रम रोकेर शान्तिपूर्ण उपाय र वार्ताबाट राजनीतिक समाधान खोेज्न अनुरोध गरेको छ । नेपाल र भारतबीच सदियौँदेखिको सुमधुर सम्बन्ध, आपसी मित्रता र सद्भावना, दुई देशबीचको व्यापार÷पारवहन सन्धि एवम् प्रचलित अन्तर्राष्ट्रिय मूल्य, मान्यता समेतलाई ध्यानमा राखी सिमानाका व्यापारिक नाकाहरू निर्वाध रुपमा खोलेर यस दुःखद् एवम् असामान्य परिस्थिति समाप्त गर्न भारत सरकारसँग कूटनीतिक लगायतका उपायहरू अवलम्बन गर्न नेपाल सरकारसमक्ष बैठकले माग गरेको छ । बोल्ने केही सदस्यले संसद्को ठूलो दल भएकाले आगामी सरकारको नेतृत्व काँग्रेसले नै गर्नुपर्ने माग गरेपनि सरकार गठनका विषयमा थप छलफल गरी ठोस निर्णय लिन केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बिहान ९ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा पुनः बस्ने प्रवक्ता दिलेन्द्रप्रसाद बडुले जानकारी दिनुभयो । बैठकले पार्टीको १३ औँ महाधिवेशन फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ । यसअघि असोज पहिलो साता महाधिवेशनको तिथि तोकिएकामा संविधान घोषणाको असोज ३ को मितिका कारण स्थगन गरिएको थियो ।