‘सरकार गम्भीर भए सहमति हुन्छ’– मधेसी नेता
आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताले सहमतिका लागि सरकार गम्भीर नभएको धारणा राख्नु भएको छ । काठमाडौंमा आयोजित साक्षात्कारमा ती नेताले तीन दलका प्रतिनिधिसँग दुई पटक वार्तामा बस्दासमेत सरकारको तर्फबाट ठोस प्रस्ताव आउन नसकेको बताउनुभयो । सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले मधेसी समुदायले राखेको पुरानै जायज मागप्रति सरकार गम्भीर छैन, यदी सरकारले ध्यान दिने हो भने वार्ताबाट समस्या समाधान गरी दुई दिनभित्र नाका खुल्छ भन्नुभयो । पछिल्लो पटक इन्धनलगायतमा गरिएको नाका बन्द भारतले भन्दा पनि मधेसमा भइरहेको आन्दोलनका कारण भएको उहाँको भनाइ छ । सङ्घीय समाजवादी फोरमका उपाध्यक्ष लालबाबु राउतले आन्दोलनका क्रममा घाइते भएकालाई निःशुल्क उपचार गर्नुपर्ने, मृतकलाई सहिद घोषणा गर्नुपर्ने र बन्दीलाई तत्काल रिहाइ गर्नुपर्ने माग गर्नुभयो ।
उहाँले वार्ताको क्रममा देखिएका विभिन्न समस्याको बीच पनि अबको २÷३ दिनभित्रमा सहमति हुने जिकिर गर्नुभयो ।