प्रधानमन्त्रीको खोजी, अध्यक्ष ओलीलाई सहयोग गर्न काँग्रेस, एमाओवादीलगायतसँग एमालेको आग्रह


Oli Delivers Remarks

Oli Delivers Remarks
Oli Delivers Remarks

नेकपा (एमाले)ले आफ्ना अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठनमा सहयोग गर्न प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइरालालाई औपचारिक आग्रह गरेको छ । एमालेका अध्यक्ष ओलीसहितको उच्चस्तरीय टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा आज भेटी कोइरालालाई सो आग्रहसहितको पत्र बुझाएको हो । एमालेले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने निर्णय स्थायी कमिटीको बैठकले गरेको थियो । भेटपछि अध्यक्ष ओलीले विगतमा संविधान निर्माण गर्न प्रमुख दलमा गरिएको एकता, सहकार्य र सद्भावनाको मूल्याङ्कन गर्दै भावी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गरिएको बताउनुभयो । उहाँले जवाफमा प्रधानमन्त्री कोइरालाले आफूले भद्र सहमतिअनुसार सहयोग गर्छु भन्दै आएको तर पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरेपछि आधिकारिक जवाफ दिने बताउनुभएको थियो । अध्यक्ष ओलीले भूकम्पपछिको पुनः निर्माण, नयाँ संविधान कार्यान्वयनका लागि सहमतिका आधारमा विभिन्न कानुनको निर्माण र कार्यान्वयनका लागि प्रमुख दलसँगै हुनुपर्नेमा आफूले जोड दिएको बताउनुभयो । पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री कोइरालाले आफू सहमतिको सरकार गठनका लागि सकारात्मक रहेको र विगतको सहमतिलाई पनि ध्यानमा राखेको तर पार्टीले समर्थन गर्ने नगर्ने भन्नेबारेमा केन्द्रीय कमिटीको जारी बैठकले संस्थागत निर्णय गरेपछि स्पष्ट हुने बताउनुभयो । भेटमा अध्यक्ष ओलीका साथ एमालेका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष विद्यादेवी भण्डारी, सचिव प्रदीप ज्ञवालीसहितका नेता सहभागी हुनुहुन्थ्यो । राष्ट्रपति डा रामवरण यादवले सहमतिका आधारमा नयाँ प्रधानमन्त्री चयनका लागि सात दिनका लागि दिनुभएको समयको आज अन्तिम दिन एमालेले आफ्नो नेतृत्वको सरकार गठनका लागि सक्रियता देखाएको हो भने अन्य दल पनि आन्तरिक छलफलमा जुटेका छन् ।
राप्रपालाई एमालेको प्रस्ताव
नेकपा (एमाले)ले नयाँ सरकारको नेतृत्वका लागि आफ्नो पार्टीलाई सहयोग गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई आग्रह गरेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको टोलीले आज साँझ राप्रपा नेपाल केन्द्रीय कार्यालय धूमबाराहीमा पुगेर सो पार्टीका अध्यक्ष कमल थापा र अन्य पदाधिकारीसँग भेट गरी सहयोगका लागि आग्रह गरेको हो । एमालेको प्रस्तावमा अध्यक्ष थापाले आफ्नो पार्टी सकारात्मक रहेको र नयाँ सरकारको नेतृत्वका लागि अध्यक्ष ओलीलाई शुभकामना दिँदै केन्द्रीय कार्यसमितिको बैठकले चाँडो निर्णय लिने प्रतिबद्धता व्यक्त गर्नुभएको केन्द्रीय सदस्य राजाराम बर्तौलाले बताउनुभयो । उक्त भेटमा एमालेका तर्फबाट अध्यक्ष ओली, वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष विद्यादेवी भण्डारी र सचिव प्रदीप ज्ञवाली सहभागी हुनुहुन्थ्यो । राप्रपा नेपालका अध्यक्षसहितका पदाधिकारी सो भेटमा सहभागी हुनुहुन्थ्यो । राप्रपाका तर्फबाट अध्यक्ष थापा, उपाध्यक्ष टङ्क ढकाल, धवलशम्शेर राणा हुनुहुन्थ्यो । यसैबीच पार्टीको केन्द्रीय कार्यसमितिको पूर्ण बैठक शुक्रबार बस्ने भएको छ । बिहान ९ बजे बस्ने सो बैठकले अब बन्ने नयाँ सरकारमा पार्टी सहभागी हुने वा नहुनेबारेमा सैद्धान्तिक टुङ्गो लगाउने, मुलुकको पछिल्लो राजनीतिक गतिविधि तथा समसामयिक विषयमा छलफल गर्नेछ । संविधान जारी भएपछि अब पार्टीले अपनाउनुपर्ने रणनीति तथा नाकाबन्दीले जनजीवनमा पारेको प्रभावका बारेमा मूल्याङ्कन तथा छलफल गरिने पार्टीका सहायक महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
एमाओवादीसँग आग्रह
नेकपा (एमाले)ले आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्नका लागि एकीकृत नेकपा (माओवादी) नेतृत्वलाई आग्रह गरेको छ । एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेतृत्वले आज एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाट पुगी ‘भद्र सहमति’अनुसार अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठनका लागि औपचारिक आग्रह गरेको हो । जवाफमा अध्यक्ष दाहालले सहमतिबाटै अगाडि बढ्नुपर्नेमा जोड दिँदै सो विषयमा आफ्नो पार्टीको शुक्रबार बस्ने पदाधिकारी बैठकले निर्णय गर्ने बताउनुभएको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?