प्रधानमन्त्रीको लागि एमाले अध्यक्ष ओली र काँग्रेस सभापति सुशील कोइरालाको दाबी
सहमतिका आधारमा प्रधानमन्त्री चुन्ने प्रयास असफल भएपछि बहुमतीय प्रधानमन्त्रीको चयन गर्ने प्रक्रिया अघि बढेको छ । यसैक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो उम्मेद्वारी व्यवस्थापिका संसदमा दर्ता गराएका छन् । ओलीलाई प्रधानमन्त्री बनाउन एमालेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रस्तावक र राप्रपा नेपालका अध्यक्ष कमल थापा समर्थक बनेका छन् । अर्कोतर्फ, नेपाली काँग्रेसले आफ्नो तर्फबाट प्रधानमन्त्रीको उम्मेद्वार वर्तमान प्रधानमन्त्री सुशील कोइरालालाई नै बनाउने निर्णय गरेको छ । संसदीय दलको बैठकमा यस्तो निर्णय गरेपछि प्रधानमन्त्री आफ्नो निर्णयबारे जानकारी गराउनका लागि राष्ट्रपति भवनमा पुगेका छन् । यसलगत्तै प्रधानमन्त्रीले संसद सचिवालयमा पुगेर उम्मेद्वारी दर्ता गर्ने तयारी गरेका छन् । तीन दलबीच सहकार्यबाट मात्रै वर्तमान संकट र संविधानको निकास निस्कनसक्ने विश्लेषण भइरहेको बेला तीन दल दुईतिर बाँडिएका छन् । जसका कारण एमाले अध्यक्ष र वर्तमान प्रधानमन्त्री आमनेसामने देखा परेका छन् । यद्यपि अझै पनि उम्मेद्वारी फिर्ता लिने र सहमतिलाई अघि बढाउने अवसर भने बाँकी नै छ । तर, केन्द्रीय कमिटीबाट नै निर्णय गरेर आएको अवस्थामा यो सम्भावना भने निकै क्षीण बनेको छ ।