आज एमालेको पनि स्थायी समिति बैठक, मन्त्रीको टुंगो लगाउने


सरकार विस्तार, राष्ट्रपति, सभामुखलगायत पदमा बाँडफाँड र चयनका विषयमा छलफल गर्न आज प्रमुख सत्तारुढ दल नेकपा (एमाले) को स्थायी कमिटीको बैठक बस्ने भएको छ । पछिल्ला दुई दिनमा एमाले र एमाओवादी तथा अन्य दलसँग भएका आपसी छलफल र आन्तरिक गृहकार्यका आधारमा ती विषयमा टुङ्गो लगाउन स्थायी कमिटीको बैठक बस्न लागेको सो पार्टीका केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । एमालेमा यसअघि सामान्यतः शीर्ष नेताको परामर्शमा प्रधानमन्त्रीले मन्त्रीको चयन गर्ने गरिए पनि यसपटक स्थायी कमिटीबाटै यसको निर्णय हुन लागेको हो । एमालेले राष्ट्रपति पाउने सम्भावना भएकाले सो पदको उम्मेदवारीका विषयमा पनि स्थायी कमिटीले निर्णय गर्नेछ भने उपप्रधानमन्त्रीसहित अर्थमन्त्री र अन्य मन्त्री चयन गर्नेछ । रिक्त सभामुख पदमा एमाओवादीका उम्मेदवारलाई एमालेले सघाउनेछ । स्रोतका अनुसार राष्ट्रपतिमा उपाध्यक्ष विद्यादेवी भण्डारी र उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीमा उपाध्यक्ष भीम रावललाई अघि सार्ने तयारी भएको छ । सो विषयमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा एमालेका शीर्ष नेताबीच छलफल भए पनि निर्णय बाहिर ल्याइएको छैन । एमालेले नयाँ सरकारमा तीन मन्त्री पठाइसकेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?