अमेरिकी राष्ट्रपति र पाकिस्तानी प्रधानमन्त्री भेटवार्ता, मुद्दा आतंकवाद नियन्त्रण
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाराक ओबामा र पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफबीच वासिङ्टनमा भेटवार्ता भएको छ । हाल अमेरिकाका भ्रमणमा रहनुभएका पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफ र अमेरिकी राष्ट्रपति ओबामाबीच वासिङ्टनमा भेटवार्ता भएको हो । ह्वाइट हाउसमा भएको सो भेटमा उहाँहरूबीच विभिन्न खाले अतिवाद र आतङ्कवादका विरुद्धमा एक भएर लड्ने सहमति भएको बताइएको छ । ह्वाइट हाउसले दिएको जानकारीअनुसार राष्ट्रपति ओबामाले पाकिस्तान आतङ्वादका विरुद्धमा लड्ने शक्तिका रुपमा रहिआएको भन्दै यस शक्तिका रुपमा पाकिस्तानलाई अमेरिकाले स्वीकारेको बताउनुभयो । यी दुई नेताद्वारा जारी संयुक्त विज्ञप्तिमा पाकिस्तानले विगत लामो समयदेखि आतङ्कवादका विरुद्धमा लड्दै आएको छ भन्दै आतङ्कवाद विरुद्धमा लड्ने शक्तिका रुपमा अमेरिकाले पाकिस्तानलाई स्वीकारेको बताइएको छ । सो विज्ञप्तिमा पाकिस्तानले विगतका कैयौँ वर्षदेखि आतङ्कवादका विरुद्धमा लड्ने, अल कायदालाई कमजोर बनाउने तथा अरु यस्ता शक्तिलाई पनि कमजोर बनाउन पाकिस्तानले खेलेको भूमिकाको अमेरिकाले प्रशंसा गरेको छ । सो विज्ञप्तिमा पाकिस्तान र अमेरिकाले पाकिस्तानले अफगानिस्तान छिमेकीका हैसियतमा तालिवानविरुद्धको अफगान र अमेरिका कारबाहीमा सघाइरहेको बताइएको छ । साथै आगामी दिनमा पनि यस्तो सहयोगले निरन्तरता पाउने भन्दै अफगान सरकारले गरेको शान्तिवार्ताको प्रस्तावप्रति सहमति जनाउँदै वार्तामा बस्न पनि अफगानिस्तानका तालिवानलाई आग्रह गरिएको छ । उक्त विज्ञप्तिमा पाकिस्तानी प्रधानमन्त्री शरिफले पाकिस्तानले कुनै पनि आतङ्कवादी शक्तिका लागि आफ्नो भूमि प्रयोग गर्न नदिने आश्वासन पनि दिनुभएको छ । विज्ञप्तिमा अमेरिकी राष्ट्रपति ओबामाले अमेरिका पाकिस्तान विभिन्न क्षेत्रमा सहयोग र समन्वय गर्दै आएका शक्ति हुन भन्दै आगामी दिनमा पनि यो सहयोग र समन्वयले झन बढी निरन्तरता पाउने बताउनुभएको छ । यसपटकको यस भ्रमणका क्रममा शान्ति र सुरक्षाका क्षेत्रमा मात्र नभई आर्थिक, वैज्ञानिक एवम् शैक्षिक क्षेत्रमा पनि सहयोग आदानप्रदानका बारेमा छलफल भएको बताउनुभएको छ ।