चितवन ल्याउन लागेको खाद्यान्न आन्दोलनकारीले लुटे
वीरगन्ज बाइपास सडकखण्डको ब्रह्मा चोकमा एउटा मिनी ट्रकमा लोड गरिएको खाद्यान्न आन्दोलनकारीले लुटेका छन् । बन्द अवज्ञा गरी खाद्यान्न अन्यत्र पु¥याएको आरोप लगाउँदै ना४ख ४७७४ नम्बरको मिनी ट्रकमा लोड रहेको दैनिक उपभोग्य वस्तुलाई आन्दोलनकारीले लुटेको प्रहरीले जनाएको छ । चामल, दाल, नुनलगायतका खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु वीरगन्जबाट चितवनका लागि लैजाने तयारीमा राखिएकोे मिनी ट्रकलाई लुटपाट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । मिनी ट्रकबाट खाद्यान्न लुटेको अभियोगमा चार जना व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मिनी ट्रकबाट लुटपाट गरिएका केही वस्तु बरामद् गरे पनि आधाभन्दा बढी खाद्यान्न हराइरहेको प्रहरीले बताएको छ । पक्राउ परेका चारैजनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । घटनबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।