विद्या भण्डारीलाई राष्ट्रपति बनाउने एमालेको प्रस्ताव सर्वसम्मत निर्णय


नेकपा (एमाले)भित्र उपाध्यक्ष विद्यादेवी भण्डारीबाहेक अन्य नेता पनि राष्ट्रपतिको उम्मेदवार बन्ने चर्चा चले पनि उहाँको नाममा सर्वसम्मत निर्णयपछि पार्टीभित्रको आन्तरिक एकता थप सृदृढ भएको देखिएको छ । एमालेको आजकोे स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव तथा वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपालको समर्थनमा स्थायी कमिटीले एक मतका साथ भण्डारीलाई उम्मेदवार बनाएकाले यो निर्णयले पार्टीलाई थप उचाइमा लैजाने एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले बताउनुभयो । एमालेभित्र वरिष्ठ नेता खनाल र पूर्वसभामुख सुवास नेम्वाङको चर्चा चलेको थियो । संयोगवश उपाध्यक्षका हैसियतमा भण्डारी पनि बैठकमा सामेल हुनुहुन्थ्यो । एमालेका उम्मेदवारलाई सत्तारुढ गठबन्धनबाट मत प्राप्त हुने देखिएकाले पूर्व जनसङ्ख्या तथा वातावरण र रक्षामन्त्री तथा अखिल नेपाल महिला सङ्घको अध्यक्षसमेत रहनुभएका भण्डारीको विजय निश्चित भएको पनि एमालेका नेताहरूको बुझाइ छ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले पनि सो पदमा उम्मेदवारी दिने निर्णय गरे पनि उम्मेदवारको नाम तय गरिसकेको छैन । उपराष्ट्रपतिमा हालसम्म एमाओवादीका नन्दबहादुर पुन मात्र उम्मेदवारमा चयन हुनुभएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?