सिड्नीमा कलेज खोली नक्कली विद्यार्थी खडा गरेर सरकारी अनुदान ठगी गरेको भन्दै मुद्दा
अष्ट्रेलियाले आफ्ना नागरिकहरुलाई विभिन्न खाले पढाईको निम्ति अनुदान दिने गर्दछ । तर, यो अनुदान विस्तारै आफ्नो जीवनकालमा तिर्दै जानु पर्दछ । यस्तो सुविधालाई प्रयोग गर्ने बहानामा विभिन्न निजी कलेजहरुले बदमासी गरेको थाहा पाएपछि यतिबेला सरकारले यस्ता कलेजहरुलाई कालोसूचिमा राखेर छानविन अघि बढाएको छ । यस्ता कलेजको संख्या १० भन्दा बढी भएको बताइएको छ । यसैबीच, सन्डे मर्निंग हेराल्डमा पत्रकार ईरिक बाग्शो लेख्छन्, आठ वर्षको बीचमा ग्रानभिलको एउटा सामान्य ट्रेनिंग सेन्टरका १६ विद्यार्थीबाट सुविधासम्म ८ सयभन्दा बढी विद्यार्थी पढ्ने कलेजको सञ्चालक बनी लाखौं डलरको मालिक बनेका अमरजीत खेला यतिबेला अनुसन्धानको दायरामा छन् । भारतीय नागरिक अमरजीतले नेपाली समूदायका साथै अन्य दक्षिण एशियाली समूदायका विभिन्न कार्यक्रममा पनि सहयोग गर्ने गरेका छन् । उनको युनिक कलेजले अशिक्षित र अपांगहरुलाई समेत नक्कली विद्यार्थीको रुपमा भर्ना गरी सरकारी अनुदान प्राप्त गरेको बताइएको छ । यसका निम्ति मार्केटिंगको ठूलो टिम खडा गरी मुख्यतः आदिवासी बाहुल्य गाउँहरुमा पठाउने गरेको र ल्यापटप पुरस्कार दिने बहाना र निश्चित रकम दिने प्रलोभन दिँदै मा विभिन्न फर्महरु भराउँदै विद्यार्थीको संख्या ८ सय पुर्याएको उनीमाथि आरोप छ । उनको कलेजमा यतिबेला ४ सय आन्तरिक र ४ सय अन्तर्राष्ट्रिय विद्यार्थी छन् । तर, उनीहरुलाई धोकापूर्ण रुपमा भर्ना गरिएको र अनुदानमा अपचलन गरेको आरोपमा संघीय अदालतले ५७ लाख बराबरको बिगो दावी सहित मुद्दा दायर गरिएको छ । उनी भने फरार छन् । उनको कलेजको दर्ता गत अक्टोबर महिनामै खारेज गरिएको थियो । खारेजीको मुख्य कारण ८ सय विद्यार्थीमध्ये मात्र २ दशमलब ४ प्रतिशत मात्र उत्तिर्ण हुन सकेका थिए । यसपछि कारण खोज्दै जाँदा उनको गलत धन्दा पर्दाफास भयो । यतिबेलासम्म उनले राज्यबाट ४२ लाख डलर प्राप्त गरिसकेका थिए । उनले अज्ञातस्थलबाट साथीभाइहरुसँग प्रतिक्रिया दिएका छन्, अहिले म चुपचाप छु किनकि कानूनी मामिला छ । र, यथेष्ठ प्रमाणका साथ म आफ्नो कुरा लिएर फेरि आउनेछु ।
सन् १९९८ मा अष्ट्रेलिया आएका यी भारतीय नागरिकले बितेको ८ वर्षमा यो प्रगति हासिल गरेका हुन् । उनको भव्य कलेज रहेको छ भने आफ्नो व्यक्तिगत सम्पत्ति पनि धेरै जोड्ने सफलता पाएका छन् । उनको घर दुई हेक्टर क्षेत्रफलमा फैलिएको छ भने १२ वटा कार अट्ने ग्यारेज, बिलियार्ड रुम, छुट्टै शैलुन, बच्चाहरुको निम्ति सिनेमा हल लगायतका सुविधाहरु भएको मिडियाले जनाएका छन् । पूर्वपत्रकार रहेका उनले जब शैक्षिक व्यवसाय सुरु गरे उनले आठ वर्षकै बीचमा प्रगति हासिल गर्न सफल भए ।
नोभेम्बर २४ तारिखका दिन कलेजलाई अदालतमा हाजिर हुन बोलाइएको छ । अष्ट्रेलियन कम्पीटीशन एण्ड कन्सुमर कमिशनले कलेजका विरुद्ध मुद्दा अघि बढाएको हो ।