आन्दोलन हुनेबित्तिकै राजीनामा गर्ने रोमानियाका प्रधानमन्त्री
रोमानियाका प्रधानमन्त्री भिक्टर पोन्टा नेतृत्वको सरकारले बुधबार राजीनामा गरेको छ । पोन्टासहित उहाँका मन्त्रीमण्डलका सदस्यले रात्रि क्लबमा आगलागी भएको घटनालाई लिएर यहाँका जनताले देशभरी प्रदर्शन गरेपछि पोन्टा नेतृत्वको सरकारले राजीनामा दिएको हो । रात्रि क्लबमा आगलागी हुँदा करिब ३० जना मृत्यु भएको थियो भने २०० भन्दा बढी आगलागीमा डढेर घाइते भएका थिए । “मैले मेरो सरकारको जनादेशलाई अर्को सरकार गठनका लागि बाटो खुला गरिदिन जनतालाई सुम्पिएको छु,” प्रधानमन्त्री पोन्टाले भन्नुभयो । मेरो सरकारले नयाँ सरकार गठनका लागि प्रदर्शनकारीको माग अनुसार राजीनामा दिएको छ, आशा छ यसपछि देशमा देखिएका हिंसात्मक गतिविधि नियन्त्रण हुनेछन्, पोन्टाले बुधबार जारी गरेको वक्तव्यमा भनिएको छ । यद्यपि प्रधानमन्त्री पोन्टाले आफ्नो सरकारले अर्को नयाँ सरकार गठन नहुँदासम्म सम्पूर्ण जिम्मेवारी सम्हाली रहने पनि वक्तव्यमा बताइएको छ । यससँगै अब रोमानियाका राष्ट्रपति क्लाउस इओहानिसले नयाँ सरकारका प्रधानमन्त्रीको नाम सिफारिस गर्नु हुनेछ । यदि दुई पटकसम्म आह्वान गर्दा पनि कसैको नाम नआएमा संसदीय निर्वाचनको आह्वान हुनेछ । गएको शुक्रबार राति एक नयाँ गीती एल्बम विमोचन गर्ने कार्यक्रम रहेकोले सो कार्यक्रममा खचाखच मात्रामा सहभागी रहेका थिए । क्लबमा नाचगान चलिरहेका बेला अकस्मात आगलागी सुरु भएको थियो । सो एल्बम विमोचनको लागि करिब १ हजार व्यक्तिको सहभागिता रहेको थियो ।